भैरहवा ।प्यारामाउण्ट कलेज र रुपन्देही क्याम्पस भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । मंगलबार भएका दुई खेलमध्ये पहिलो खेलमा प्यारामाउण्टले होराइजन जीबीएसलाई ४९ रन र दोस्रो खेलमा रुपन्देही क्याम्पसले काशी नोबल एकेडेमीलाई ४३ रनले हराउँदै जित निकालेका हुन् ।
सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको प्यारामाउण्टले मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि ऋषभ बेल्बासेले ३८, ड्रस सुनार र सन्देश थापाले समान १९ र शिव कुँवरले नटआउट १५ रन बनाए । बलिङमा होराइजन जीबीएसका विप्रसन केसी र आरिफ खानले २–२ तथा सुप्रिम बेल्बासेले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको होराइजन जीबीएसले ७ विकेटको नोक्सानीमा जम्मा ७८ रन बनायो र हार ब्यहोर्यो । उसका लागि सचिन जिसीले २८, सुनिल लोधले नटआउट १६ र चन्दन राजपुतले १४ रन बनाए पनि अन्य ब्याटर नचल्दा टिमले लक्ष्य भेट्टाउन सकेन । बलिङमा प्यारामाउण्टका तुलबहादुर थापा र शिव कुँवरले २–२ तथा सागर गैह्रे, सन्देश थापा र सागर भण्डारीले १–१ विकेट लिए । खेलमा तुलबहादुर थापा प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देही क्याम्पसले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ७१ रनको बलियो योगफल बनायो । उसका लागि सन्तोष यादवले अविजित १ सय १५ रनको शतकीय पारी खेले । यस्तै, इमरान खान र अनिककुमार चौधरीले १० रन बनाए । बलिङमा काशी नोबलका सुप्रित घिमिरेले २ तथा सुमन पाण्डे र आदित्य शर्माले १–१ विकेट लिए ।
प्रतिउत्तरमा काशी नोबल ५ विकेटको नोक्सानीमा १ सय २८ रन मात्रै बनाउन सक्यो । उसका लागि सेजाद आलमले ३७, सुमन पाण्डेले ३१ र सुप्रित घिमिरेले २६ रन बनाए पनि जितका लागि प्राप्त भएन । बलिङमा रुपन्देही क्याम्पसका बाबुलाल केवटले ४ तथा सन्तोष यादव र शिवकुमार यादवले १–१ विकेट लिए । खेलमा सन्तोष यादव प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ पाए ।
रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।