लुम्बिनी बौद्ध विश्वविद्यालयमा नेपाल—चिन मित्रता स्तम्भ स्थापना

by समतल अनलाइन

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा नेपाल—चिन मित्रता शिला स्तम्भ स्थापना गरिएको छ । विश्वविद्यालयको बौद्ध अध्ययन संकायबाट आज एक समारोहको आयोजना गरी मित्रता शिला स्तम्भ अनावरण गरिएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र चीन—नेपाल साँस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली पोज्यूले बुद्ध जन्मस्थलमा रहेको विश्वविद्यालयको बौद्ध अध्ययन संकायको कार्यालय परिसरमा रहेको सो स्तम्भको अनावरण गर्नुभएको हो ।

कार्यक्रममा बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. बज्राचार्यले स्तम्भ अनावरणसँगै नेपाल र चीनबीचको सम्बन्ध अझै सुमधुर बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । बौद्ध विश्वविद्यालको विकास र शैक्षिक उन्नयनमा चीनको सदैव सकारात्मक सहयोग रहँदै आएको बताउँदै उहाँले आगामि दिनमा नेपाल चीनबिचको साँस्कृतिक आदानप्रदान रहिरहने उल्लेख गर्नुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षण गर्ने गरी योजना अघि बढाइएको भन्दै उहाँले यी योजना सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।
चीन—नेपाल साँस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली पोज्यूले सबैको समूहिक प्रयासमा मित्रता स्तम्भ राख्ने काम सफल भएको बताउँदै यो प्रयासले विश्वविद्यालय र चिनियाँ जनताबीचको सम्पर्क र सहकार्य बलियो हुने उल्लेख गर्नुभयो ।

“हाम्रो केन्द्रले विगत दश वर्षदेखि नेपाल र चीनका विविध क्षेत्रहरु र व्यक्तिहरुको सहकार्य गर्ने आधार प्रदान गर्दै आएको छ ”, उहाँले भन्नुभयो,“हागामी दिनमा बुद्धभूमिबाट बुद्ध अनुयायीलाई सुख, शान्ति र समृद्धि प्राप्त होस् ।”
चीनका प्रसिद्ध क्यालिग्राफी कलाकार क्वान तोंगले आफ्नो कलाकृति चीनको परम्परागत सँस्कृति “फू ” लिपीसँग सम्बन्धित रहेको जनाउँदै जसले आफैमा गहन अर्थ र भाव व्यक्त गरेको र स्थापित शिलामा बुद्ध ज्ञानसँग सम्बन्धित बोधीको प्रतिनिधित्व गर्ने पिपलको पात र बुद्धरुप चित्रित गरेको जानकारी गराउनुभयो ।

नेपाल र चीन बीचको प्राचीन सँस्कृतिको अन्तरघुलन होस् भन्ने अभिप्रायले स्थापना गरिएको शीलामा चीनमा प्रतिष्ठित बहुमुल्य मानिने कलाकृति अभिलेख गरिएको छ ।
नेपाल र चीन बीचको सम्बन्ध विस्तारका लागि शीला स्तम्भ स्थापना गरिएको बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले जानकारी दिनुभयो ।

लामो समयको प्रक्रियापछि करिब तीन महिना अगाडि शीला स्तम्भ लुम्बिनीमा ल्याइएको र आज विशेष समारोहका बीच चिनियाँ प्रतिनिधिको रोहबरमा अनावरण गरिएको परम्परागत बौद्ध चिकित्साका लागि प्रमुख अनुसन्धान केन्द्रका प्रमुख डा. सागर न्यौपाने जानकारी दिनुभयो ।

 
 
  
 

You may also like