चार प्रदेशमा आज भारी बर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले प्रकाशित गरेको बुलेटिन अनुसार अझै तीन दिनसम्म वर्षाको सम्भावना रहेको जनाइएको छ ।महाशाखाका मौसमविद् मिनकुमार अर्यालले आगामी तीन दिनसम्म काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जानकारी दिएका छन् ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ । साथै यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

 
 
  
 

You may also like