इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा, उपाधि भिड्न्त स्पेनसँग

काठमाडौं । नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको अन्तिम मिनेटमा ओले वाट्किन्सको निर्णायक गोलले नेदरल्याण्ड्समाथि २–१ को जित निकालेको हो । बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा डच टिमले अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन ।

खेलको सातौं मिनेटमा नै जाभी सिमोन्सको गोलमा नेदरल्याण्ड्सले अग्रता बनाएको थियो । सिमोन्सले १८ यार्ड बक्स बाहिरबाट सेकेन्ड बारमा उत्कृष्ट गोल गरेका थिए । तर, नेदरल्याण्ड्सको यो अग्रता लामो समय टिक्न सकेन । १८आंँ मिनेटमा कप्तान ह्यारी केनले प्राप्त पेनाल्टीलाई सदुपयोग गरेपछि इङलिस टिम खेलमा फर्किएको थियो । नेदरल्याण्ड्सका डेन्जेल डम्फ्रिजले १८ यार्ड बक्सभित्र ह्यारी केनमाथि नै फाउल गरेपछि इङल्याण्डले भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहयोगमा पेनाल्टी जितेको थियो । जसमा केनले कुनै गल्ती गरेनन् ।

निर्धारित समयको अन्तिम मिनेटमा वाट्किन्सले गोल गर्दै इङल्याण्डलाई २–१ को अग्रतामा राखे । कोल पाल्मेरको पासलाई नियन्त्रणमा राख्दै वाट्किन्सले पेनाल्टी बक्सबाट आकर्षक गोल गरे । इङल्याण्डले दोस्रो हाफमा डच टिमविरुद्ध यो नै एकमात्र ‘अन टार्गेट’ प्रहार थियो । वाट्किन्सले ८१औं मिनेटमा कप्तान ह्यारी केनको स्थानमा मैदान प्रवेश गर्ने अवसर पाएका थिए ।

वाट्किन्सको यही गोल निर्णायक बन्दा ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्लिस टिम लगातार दोस्रो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । त्यसअघि खेलको ८० औं मिनेटमा बुकायो साकाले गोल गरे पनि भारबाट खारेज हुँदा इङल्याण्ड अग्रता लिनबाट चुकेको थियो ।

इङल्याण्डले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले यसअघि पहिलो सेमिफाइनलमा फ्रान्सविरुद्ध २–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । इङलिस टिमले युरो–२०२० मा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, उपाधि भिड्न्तमा इटालीसँग पेनाल्टी सुटआउटमा निरास बन्दा इङल्याण्ड उपविजेता मात्र बनेको थियो । सन् १९६८ देखि युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै आएको भए पनि इङल्याण्डले हालसम्म उपाधि भने जित्न सकेको छैन ।

 
 
  
 

You may also like