आउँदो आइतबारसम्म ‘अति भारी वर्षा’ हुने, सचेत रहन आग्रह

काठमाडौं । केही दिनयता देशभर सक्रिय मनसुन (पानी पार्ने प्रणाली) शुक्रबारदेखि थप सक्रिय हुने र वर्षाको मात्रा बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज (बिहीबार) साँझ मनसुन विशेष मौसम बुलेटिन–३ जारी गर्दै शुक्रबारदेखि वर्षा अझ बढ्ने सम्भावना देखिएकाले बाढी, पहिरो जस्ता जोखिमबाट सचेत रहँदै बच्ने उपाय अपनाउन आम नागरिकलाई आग्रह गरेको हो ।

‘विगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण नेपालमा मनसुन सक्रिय हुन थालेकाले २०८१-०३-२० सम्म सतर्कताका लागि मिति २०८१-०३-१६ मा मनसुन विशेष मौसम बुलेटिन जारी गरिएको थियो’, बुलेटिनमा भनिएको छ, ‘सो न्यून चापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग-सीमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले मिति २०८१-०३-२३ गते आइतबारसम्म सतर्कताका लागि आज (असार २० गते) यस विशेष बुलेटिन जारी गरिएको छ ।’

बुलेटिनअनुसार शुक्रबार (असार २१ गते) देखि आइतबार (असार २३ गते) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

बुलेटिनमा सजग गराउँदै अघि भनिएको छ, ‘तसर्थ भोलि मिति २०८१-०३-२१ गते शुक्रबारदेखि मिति २०८१-०३-२३ गते आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्न हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’

 
 
  
 

You may also like