देशका धेरै ठाउँमा रातिदेखि नै भारी वर्षा, ३० जिल्लामा ‘रेडअलर्ट’

आजदेखि आइतबारसम्म मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशका धेरै ठाउँमा रातिदेखि नै वर्षा भइरहेको छ । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।​

जलसतह बढ्दो क्रममा रहेको भन्दै नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । यस्तै, रात दाङमा मध्यम वर्षा भएको छ । कोइलाबास वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको हो । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भएर बग्ने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ ।

पछिल्लो पाँच दिनदेखि सक्रिय रहेको मनसुनी प्रणाली आगामी आइतबारसम्म सक्रिय रहने छ । न्यूनचापीय रेखा नेपालको दक्षिण भूभाग-सीमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले आइतबारसम्म सतर्कता अपनाउनुपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले धेरै वर्षा हुने आकलन गरिएका लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ रहेका छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ ।

कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ । विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ । सो न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ । दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अपिल गरेको छ ।

 
 
  
 

You may also like