बुटवल जेसीजको बिहिबारदेखि सप्ताहव्यापी कार्यक्रम, सम्पूर्ण तयारी पुरा

बुटवल । बुटवल जेसीज वर्ष २०२४ को जेसीज सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । कार्यक्रम यही असार ६ गतेदेखि १३ गतेसम्म संचालन हुने छ ।

जेसिज सप्ताह कार्यक्रम अन्तर्गत प्रभावकारी भाषणकला तालिम, योग प्रशिक्षण, रक्तदान, वर्तमान अर्थतन्त्र समृद्ध बुटवलको सम्भावना र चुनौति विषयक अन्तरक्रिया, स्वास्थ्य शिविर, मानसिक स्वास्थ्य सचेतना लगायतका कार्यक्रम हुने छन् ।

सप्ताहव्यापी कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बुटवल जेसिजले बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत असार ६ गते समुद्घाटन तथा प्रभावकारी भाषणकला तालिम हुने कार्यक्रम मूल संयोजक तथा बुटवल जेसिजका कार्यकारिणी उपाध्यक्ष माधव पराजुलीले बताए ।

यस्तै असार ७ गते योग प्रशिक्षण, ८ गते रक्तदान, ९ गते बृफिङ एण्ड प्लानिङ मिटिङ, १० गते वर्तमान अर्थतन्त्र समृद्ध बुटवलको सम्भावना र चुनौति विषयक अन्तरक्रिया, ११ गते निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम हुने संयोजक पराजुलीले बताए । यस्तै १२ गते मानसिक स्वास्थ्य सचेतना र १३ गते समापन तथा हाम्रो मातृत्व, हाम्रो सन्तति विगत, वर्तमान र भविष्य विषयक अन्तरक्रिया हुने उनले जानकारी दिए । कार्यक्रम सफल बनाउनका लागि छुट्टा छुट्टै कार्यक्रम संयोजक तोकिएको मूल कार्यक्रम संयोजक पराजुलीले बताए ।

कार्यक्रममा बोल्दै बुटवल जेसिजका अध्यक्ष विनोद घिमिरेले बुटवल जेसिजका कार्यक्रमहरु मध्य जेसिज बुटवल सप्ताह कार्यक्रम एउटा अभिन्न र महत्वपूर्ण कार्यक्रम रहेको बताए । अहिले २०२४ मा बुटवल जेसिज ५० औ वर्षमा पुरा गरेको र उज्जवल भविष्यका लागि नेतृत्व भन्ने नारा अघि सारेर त्यही अनुसार काम गरिरहेको बताए ।

बुटवल जेसिजको नेतृत्व गरेकाले राष्ट्रिय जेसिजको पनि नेतृत्व गरिसकेको बताउँदै बुटवल जेसिजलाई अझ प्रभावकारी रुपमा अघि बढाउने बताए । साथै उनले पछिल्लो समय युवा विदेशीने क्रममा बढेकाले जेसिजमा पनि त्यसको प्रभाव परेको बताउँदै राज्यले समयमा नै यसको समाधानका लागि उचित पहल गर्नु पर्ने बताए ।

 
 
  
 

You may also like