अलराउण्डर विश्व वरीयताको छैठौं स्थानमा उक्लिए दीपेन्द्रसिंह ऐरी, हार्दिक पाण्ड्या परे पछि

काठमाडौं । आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउण्डरतर्फको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी छैठौँ स्थानमा उक्लिएका छन् । ऐरीले एकसाथ तीन स्थान सुधार गर्दै भारतका हार्दिक पाण्ड्या, इङल्याण्डका लाइम लिभिङस्टोन र इङल्याण्डकै मोइन अलीलाई पछि पारेका छन् ।

यसअघिको वरीयतामा नवौँ स्थानमा रहेका दीपेन्द्र बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा छैठौँ स्थान पक्का गरेका हुन् । यो पटकको वरीयतामा नेपालकै कुशल मल्लको भने वरीयता एक स्थानले खस्किदै ३६ औं स्थानमा पुगेको छ । यसअघि ६६ औं स्थानमा रहेका कप्तान रोहित पौडेलले एकै पटकमा ११ स्थान सुधार गर्दै ५५ औं स्थानमा आइपुगेका छन् ।

नेपालका गुल्सन ६८ र भुर्तेल ७०औँ स्थानमा छन् । नेपालका करण केसीको ६ स्थान तल झर्दै ७५औं स्थानमा पुगेका छन् ।
विश्व वरीयतामा अष्ट्रेलियाका मार्कस स्टोनिसले पहिलो स्थान ओगटेका छन् । यसअघि पहिलो स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नाबी तीन स्थान तल झर्दा श्रीलंकाका वानिन्दु हसराङ्गा दोस्रो र बंगलादेशका साकिव अल हसन तेस्रो स्थानमा छन् ।

जिम्बावेका सिकन्दर राजा एक स्थान तल झर्दा दीपेन्द्रभन्दा एक स्थान माथि पाँचौँ वरीयतामा छन् । आईसीसीले पछिल्लो खेलमा गरेको प्रदर्शनका आधारमा वरीयता निर्धारण गर्छ । विश्वकपमा समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध ३.३ ओभर बलिङ गरेका दीपेन्द्रले २२ रन खर्चिएर २ विकेट लिएका थिए भने ३१ बलमा २५ रन बटुलेका थिए । त्यसअघि अफगानिस्तानविरुद्ध ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिएका थिए ।

 
 
  
 

You may also like