रात्रिकालीन बजारले बनाउनेछ बुटवललाई गुल्जार

सन्तकुमार श्रेष्ठ
बुटवल।गर्मीमा लस्सी र जाडो मौसममा कफि खाने ठाँउभनेर बुटवलको ट्राफिक चोक चिनिन्थ्यो । कुनै समय बुटवलको ट्राफिक चोकमा विहान ४ बजेसम्म कफि पाक्थ्यो । यी कफि पसलमा रात्रिकालीन बस चढेर गाउँबाट बुटवल आउने अथवा बुटवललाई ट्रान्जिट बनाएर अन्य कुनै सहर जाने यात्रुहरुको रातभर जसो भिड लाग्थ्यो ।

व्यवसायीले मनग्गे आम्दानी पनि गर्थे । तर अहिले बुटवलको समय फेरिएको छ । राति १० बज्दा नबज्दै ट्राफिक चोकका कफि पसल बन्द हुन्छन् । रात भर कुकरको सिटी लाग्ने ट्राफिक चोक अहिले ११ नबन्दै सुनसान हुने गर्छ । नगरले रात्रिकालीन बजार चलाउने भनिरहेको छ ।
आर्थिक संकटका कारण व्यापार व्यवसायमा सुस्तता आइरहेको भाष्यका बीच राम्रै चलिरहेको रात्रिकालीन कफि व्यापार बन्द भएकोमा व्यवसायीहरु भने खुसी छैनन् । बुटवलमा बढिरहेको जनसांख्यिक घनत्वले पनि रात्रिकालीन बजारको माग गरिरहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल् बताउँछन् । उनी भन्छन्, ‘बुटवलमा जसरी जनसंख्याको चाप बढिरहेको छ, त्यो हिसावले बुटवलमा रात्रिकालिन बजारको आवश्यकता अत्यन्तै धेरै छ ।’
व्यवसायीले बुटवललाई रात्रिकालीन सहरको रुपमा विकास गर्नुपर्छ भनेर आवाज उठाएको धेरै समय वितिसकेको छ । व्यवसायीकै आवाज सुनेर बुटवल उपमहानगरपालिकाले पनि रात्रिकालीन अवधारणालाई अगाडि सारेको छ । तर यो अवधारणाले भने मूर्तरुप लिन सकेको छैन ।

स्थानीय तहको गठनपछि दोस्रो कार्यकालका लागि चुनिएर आएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले भने रात्रिकालीन बजारको विकासलाई प्राथमिकतामा राखेको बताउँछन् । उनी भन्छन्, ‘रात्रिकालीन बजारका लागि सबैभन्दा धेरै सुरक्षा प्रबन्धको आवश्यकता पर्छ । त्यसका लागि हामीले क्रमबद्ध व्यवस्था मिलाउँदैछौँ ।’

बुटवल बजार सुनसान हुँदै गएकाले कतिपयले बुटवलको भविष्य संकटमा परेको भन्न थालिसकेका छन् । बुटवल उपमहानगरपालिका भने सुनसान बुटवलको भाष्यलाई तोड्दै गुलजार बुटवल बनाउन लागिपरेको बताउँदै आएको छ । रात्रिकालीन बजारले बुटवललाई गुल्जार बनाउने विश्वास जनप्रतिनिधिहरुले राखेका छन् ।
अहिले बुटवलको कालिका पथमा रात्रिकालीन बजार सञ्चालन गर्न सकिने सम्भावना राम्रो बनेर गएको छ । उक्त पथमा अधिकांश क्याफेहरु खुलिसकेका छन् । धेरै क्लब र बारहरु पनि सञ्चालनमा छन् । त्यस्तै सफा र स्तरीय रेष्ट्ररेन्टहरु र साँझ पर्नासाथ झकमक्क बल्ने बत्तीले कालिका पथलाई साँच्चिकै मनमोहक पारेका छन् । बुटवलका नगर प्रमुख पाण्डेयले कालिकापथलाई थप गुलजार बनाउन दुई किलोमिटर सडक किनारमा सडक बत्ति बाल्ने काम अघि बढेको बताउँछन् । उनका भनाईमा सुरक्षाका लागि विभिन्न ठाउँमा सिसिटिभी क्यामेरा जडान भयरहेका छन् । ‘समग्रमा बजारलाई उज्यालो र सुरक्षित बनाउने काम भैरहेको छ,’ उनी भन्छन् ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र एकसाथ दुई वटा केबलकारको निर्माण सुरु भएपछि बुटवलमा स्तरीय होटल—रेस्टुरेन्ट खुल्ने क्रम बढ्यो । निजी क्षेत्रले आँखा चिम्लेर अरबौं लगानी गरे । विशेष गरी बुटवलको कालिका पथ क्षेत्र होटल तथा रेष्टुरेन्टका लागि हब नै बन्ने गरी निजी क्षेत्रले उत्साहित भएर लगानी गरेका थिए । नयाँ मात्रै होइन पुराना होटल तथा रेस्टुरेन्टहरुले समेत लगानी थप गरेर स्तरोन्नति गरे । विदेशी पर्यटक लक्षित होटल—रेस्टुरेन्ट, क्लब तथा क्यासिनोमा निजी क्षेत्रले लगानी बढाउँदै लगे । बुटवलका विभिन्न ठाउँमा अझै पनि सानादेखि स्टार लेबलका होटलहरु खुल्ने क्रम जारी नै छ । यद्यपी बजार सुनसान हुने र सटर खाली हुने क्रम नरोकिंदा व्यवसायीहरुमा उत्साह छैन ।

तर बुटवलले पछिल्लो पटक अघि सारेको उज्यालो बुटवल र रात्रिकालीन बजार सञ्चालनको योजनाले भने व्यवसायीहरु हौसिएका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष अर्यालका भनाईमा रात्रिकालिन बजारका कारण व्यवसायीहरुको कारोबार बढ्ने र ब्यापारमा मुनाफा हुन्छ । उनी भन्छन्, ‘रात्रिकालीन बजार सुरु गर्ने कुराले व्यवसायीहरुमा एक खालको उत्साह देखिएको छ । यस्तो बजारलाई व्यवस्थित र सुरक्षित पार्न सकेमा बुटवलको दिगो विकासमा पनि महत्वपुर्ण कदम हुनेथियो ।’

यसो त सुरक्षाको ग्यारेन्टि बीना रात्रिकालीन बजार सञ्चालन गर्न सकिंदैन भन्ने कुरा व्यवसायीलाई राम्रोसँग थाहा छ । त्यसकारण रात्रिकालिन बजारसँगसँगै आउने सुरक्षा चुनौतिलाई सम्बोधन गर्न उनीहरुले तीनै तहका सरकारसँग माग गरिरहेका छन् । होटल व्यवसायी संंघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी भन्छन्, ‘बजार चलाएर मात्रै हुँदैन । व्यवसायी र ग्राहकको सुरक्षा पनि हेर्नुपर्छ । सरकारले सुरक्षाको ग्यारेन्टी गरेर मात्र रात्रिकालिन बजार सञ्चालन गर्न दिनुपर्छ ।’

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष अर्यालको पनि उहीँ मत छ । उनी भन्छन्, ‘स्थानिय शान्ति सुरक्षा कायम गर्नको लागि संघिय सरकार मातहतमा रहेका सुरक्षा निकायसंग समन्यय गरि व्यसायिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ । त्यसो भएमा मात्रै सेवा दिने र लिनेहरु निर्धक्क हुनसक्ने वातावरण निर्माण गर्नुपर्छ ।’

यसो त बुटवल उपमहानगरपालिकाले रात्रिकालीन सुरक्षालाई ध्यानमा राखेर उज्यालो बुटवलको अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत् बुटवलका २३ वटा चोक चौराहमा उच्च क्षमताका हाइमास्ट बत्ती जडान भइरहेका छन् ।
बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठ रात्रिकालीन सुरक्षालाई मध्यनजर गरी उज्यालो बुटवलको अवधारणा अगाडि सारेको बताउँछन् । उनी भन्छन्, ‘अधिकांश घटना, अपराधहरु अध्याँरो स्थानमा हुने गर्दछन् । उज्यालोले यी घटनाहरुलाई स्वतः कम गर्न मद्धत गर्छन् । योसँगै सहरका मुख्य चोक चोकमा सीसीटीभी जडान पनि भएका छन् ।’

यद्यपि, रात्रिकालीन बजारले व्यवसायमा पार्न सक्ने सकारात्मक प्रभावप्रति भने व्यवसायीहरु बीच कुनै मतभेद छैन । बुटवलको व्यवसायीक साख खस्कदैं गएको यो समयमा रात्रिकालीन बजारले फेरि बुटवललाई आर्थिक हबका रुपमा उभ्याउने कुरामा उनीहरु सहमत छन् । होटल व्यवसायी संंघ रुपन्देहीका अध्यक्ष भण्डारी भन्छन्, ‘रात्रिकालीन बजारकै कारण बुटवलको बजार चलायमान भयो भने होटेल ब्यवसायीलाई मात्र नभई सबै व्यवसायीहरुलाई फाइदा पुग्छ । बुटवलको अर्थतन्त्रलाई पनि यसले चलायमान बनाउँछ ।’

 
 
  
 

You may also like