कांग्रेसले हेप्यो भनेर गएका प्रधानमन्त्रीलाई अहिले मन्त्री–मुख्यमन्त्रीले टेर्दैनन् : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारकै मन्त्रीहरुले नटेर्ने गरेको बताएका छन् । कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाडौं ६ (क)को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले जनताले विश्वास गुमाएको बेलामा सरकारले सम्हान नसकेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीको हालत चोक्टा खान गएको बुढी झोलमा डुबेर मरी भनेको जस्तो छ । कांग्रेसले हेप्यो भनेर गएको अहिले एउटा मन्त्रीले प्रधानमन्त्रीलाई टेर्दैन । प्रधानमन्त्रीले संसदमा बोल्दा मन्त्री आउँदैन । उपप्रधानमन्त्री आउँदैन । मन्त्रीले खल्तीबाट राजीनामा दिउँ भनेर थर्काउँछ । प्रधानमन्त्रीको यस्तो हालत भएको छ । लुते प्रधानमन्त्रीले कसरी सम्हाल्छन् ? मन्त्री र मुख्यमन्त्रीले टेर्दैनन् ।’

महामन्त्री थापाले भने, ‘बाले त्यस्तै मन्त्री पठाउनु भएको छ । बालाई मात्रै टेर्ने, प्रधानमन्त्रीलाई गन्दै नगन्ने, भौतिकमन्त्रीले अर्थ मन्त्रालयमा ग्याङ लिएर गएको छ । राति गएर २५ अर्ब आफ्नो क्षेत्रमा हाल्नु भएको छ । मैले कहिले पनि देखेको थिएन त्यस्तो । एमालेले यो सरकारको जिम्मा लिँदैन । घण्टीले पनि लिँदैन । यो बेलामा प्रधानमन्त्रीले जिम्मा लिनुपर्ने हो तर, अहिले आफैं गनगन गरेको छ, रोएको छ । यो सरकार उनीहरु नै मिलेर चलाउँछन् ।’

महामन्त्री थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने बताएका छन् । कांग्रेस प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । ‘पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्णरुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ,’ उनले भने । महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे वृहत् छलफल गरिने बताए । उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे । ‘निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनु पर्छ,’ उनले भने ।

 
 
  
 

You may also like