जनसंघर्ष ३५ औं वर्षमा प्रवेश

बुटवल। नेपाली पत्रकारिता जगतमा ३४ वर्ष अघि उदाएको ‘जनसंघर्ष’ पत्रिका ३५ औं वर्षमा प्रवेश गरेको छ । रुपन्देही जिल्ला प्रशासन कार्यालयमा २०४७ जेठ ३० विधिवत दर्ता भई असार ९ गते पहिलो अंक प्रकाशित भएको यो पत्रिकाले अनेकौं प्रकारका चुनौतीहरुको सामना गर्दै नियमित प्रकाशित हुँदै आजदेखि सगौरव ३५ औं वर्षमा प्रवेश गरेको हो ।
नियमित प्रकाशनका क्रममा यसले आर्थिकलगायत विभिन्न प्रकारका चुनौतीको सामना गर्नुपरे पनि यसले सही सूचना, समाचार र विचार सम्प्रेषण गरी समाजलाई सही गन्तव्यमा डो¥याउन खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ ।

यो पत्रिकाले धेरै कालखण्ड सम्म दैनिक र साप्ताहिक रुपमा आफ्नो प्रकाशन यात्रालाई अटुट र नियमित गर्दै आएको छ । यो पत्रिकामा आवद्ध भई विभिन्न कालखण्डमा जोडिएर योगदान दिएका पत्रकार, कर्मचारीहरु राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा राम्रो ख्यातिप्राप्त गरेका छन् ।
पत्रकारिताका साथै राष्ट्रसेवक कर्मचारी, न्यायिक तथा प्रशासनिक क्षेत्र, गायन, कला, लोक संस्कृति, अध्ययन अनुसन्धानका क्षेत्रमा समेत अब्बल स्थानमा पुगेका छन् ।

जनसंघर्षले आफ्नो पत्रकारिता यात्रालाई सशक्त र बहुआयामिक बनाउने क्रममा दैनिक पत्र राष्ट्रिय दैनिक, स्वाधीन राष्ट्रिय मासिक र अनलाइन संस्करण दैनिकपत्र डटकमको सुसञ्चालन गर्दै आएको छ । ३४ वर्षको अवधीमा २५ वर्ष सम्म दैनिक र झण्डै १० वर्ष साप्ताहिक रुपमा प्रकाशित भई आएको यो पत्रिकाले प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संस्थागत विकासमा निष्ठापूर्वक योगदान दिदै आएको छ ।

३५ औं वर्ष प्रवेशका अवसरमा यही असार १२ गते एक भव्य समारोहको आयोजना गरी नेपाली पत्रकारिता जगतमा जनसंघर्षले खेलेको भूमिका विषयमा चर्चा गर्दै परिवर्तित सन्दर्भमा शान्ति, सुशासन र समृद्धिका लागि मिडियाको भूमिका बारे विभिन्न महानुभावहरुबाट विचार प्रस्तुति समेत हुने भएको छ ।
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष,पूर्व उपप्रधान तथा सफल अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यमा बुटवलमा सम्पन्न हुने वार्षिकोत्सव कार्यक्रममा अग्रज पत्रकार वसन्तध्वज जोशी, लेखक, भाषा तथा संस्कृतिविद् हरिप्रसाद ज्ञवालीलाई नेपाली पत्रकारिता, भाषा तथा संस्कृतिको क्षेत्रमा लुम्बिनी प्रदेशमा जन्मी हुर्की उहाँहरुले दिनुभएको योगदानको उच्च मूल्यांकन गरी अभिनन्दन गरिने भएको छ ।
यस्तैगरी जनसंघर्षको अविरल यात्रामा विभिन्न समयमा जोडिएर आर्थिक, भौतिक र नैतिकरुपमा योगदान दिने तथा रिपोर्टिङ्ग, सम्पादन, लेखन र संस्थागत विकासमा योगदान दिने महानुभावहरुलाई सम्मान, प्रशंसा र कदरपत्रबाट सम्मान गरिने भएको छ । साथै नेपाली पत्रकारिता र लेखन क्षेत्रमा योगदान दिनुभएका दिवंगत केही अग्रज महानुभावहरुलाई मरणोपरान्त सम्मान समेत गरिने जनसंघर्षका संस्थापकः सम्पादक तथा प्रकाशक डा. बालकृष्ण चापागाईंले बताउनु भएको छ ।

 
 
  
 

You may also like