विश्वकप खेलेर फर्किएका सन्दीपले भने–धेरैपछि खेल्दा ‘डेब्यु’ गरे जस्तै लाग्यो

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा सहभागी भइ क्रिकेटर सन्दीप लामिछाने आज (शनिबार) स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य तीन दिनअघि स्वदेश फर्किए पनि लामिछाने भने आज मात्र स्वदेश फर्किएका हुन् । अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन् । उनी क्यानडा हुँदै नेपाल आएका हुन् ।

नेपाल आएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले टी–२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरे जस्तो अनुभव भएको प्रतिक्रिया दिएका छन् । विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टिममा अझै धेरै गर्न बाँकी रहेको उनले बताए । उनले साउथ अफ्रिकालाई दिएको चुनौती निकै राम्रो भए पनि अन्तिम बलमा जित्न नसक्दा दुःख लागेको बताए । उनले विभिन्न कारणले आफू केही समय क्रिकेटबाट बाहिर रहे पनि अब निरन्तर रूपमा लागि पर्ने जिकिर गरे ।

 
 
  
 

You may also like