भारतमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

नयाँदिल्ली । भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआईआर) ले शुक्रबार जनाएको छ ।

चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीको लहरसँग सम्बन्धित हुन सक्ने बताएका छन् । राउरकेला सरकारी अस्पताल (आरजीएच) मा १० र सुन्दरगढ जिल्ला मुख्यालय अस्पतालमा चार जनाको मृत्यु भएको थियो ।

‘आरजीएच पुग्दासम्म आठ जनाको मृत्यु भइसकेको थियो । बाँकीको त्यहाँ उपचारका क्रममा मृत्यु भयो। आरजीएचका अधिकारीहरूले शव परीक्षणपछि मृत्युको वास्तविक कारण आज पत्ता लगाउने छन्,’ एआईआरले भनेको छ । उडिसाले तीव्र गर्मीको लहर अनुभव गरिरहेको छ । राज्यका प्रमुख भागहरूमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

झारसुगुडा राज्यको सबैभन्दा तातो ठाउँ थियो । बिहीबार त्यहाँ अधिकतम तापक्रम ४७ डिग्री सेल्सियस रहेको प्रतिवेदनले देखाएको छ । अधिकारीहरूले सर्वसाधारणलाई गर्मीसम्बन्धी रोगहरूको उपचारका लागि अस्पतालहरूमा भर्ना गरिएको बताएका छन् ।

भारतको मौसम विभागले सर्वसाधारणलाई गर्मीको जोखिमबाट बच्न, चिसो ठाउँमा बस्न र पर्याप्त पानी पिएर हाइड्रेटेड रहन सुझाव दिएको सिन्ह्वाले जनाएको छ । त्यसैगरी बिहारको औरङ्गाबाद जिल्लाको एक अस्पतालमा गर्मीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ । यसअघि १२ जना पुगेको बिहारको औरङ्गाबादमा तातो लहरका कारण मृत्यु हुनेको संख्या शुक्रबारसम्म १७ जना पुगेको छ । –सिन्ह्वा

 
 
  
 

You may also like