रुपन्देहीमा दुधको गुणस्तर सन्तोषजनक

बजारमा विक्रि वितरण गरिने दुधको गुणस्तर सुधारको लागि डेरी व्यवसायीहरुले ल्याव स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । प्रत्यक्ष रुपमा मानव स्वास्थ्यसंग जोडिएको दुध शुद्ध, स्वच्छ, स्वस्थ्यकर र उपभोग मापदण्ड समेत अवलम्बन गर्नुपर्ने भएकाले ल्याव परिक्षण गरेर मात्रै बजारमा लैजाने वातावरण बनाउन उनीहरुले स्थानीय सरकारसंग आग्रह गरेका हुन् ।

उनीहरुले विशेष गरेर नगरभित्र आउने र विक्रि वितरण हुने दुधको पालिकामा सूचिकरण गर्ने र ल्याव परिक्षण गरेमा मात्रै विक्रि वितरणको प्रवन्ध मिलाउने हो भने त्यसले शुद्ध र स्वच्छ तथा मापदण्ड अनुसारको दुध मात्रै बजारमा जाने भएकाले सबै उपभोक्ताले गुणस्तर दुध उपभोग गर्न पाउने उनीहरुको भनाई छ ।

२४ औं विश्व दुग्ध दिवस तथा १४ औं राष्ट्रिय दुग्ध दिवसको अवसरमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश पशुपंछी तथा मत्स्य विकास निर्देशनालयको संयुक्त आयोजनामा शनिबार बुटवलमा गरिएको दुधको महत्व, वर्तमान अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा दुग्ध व्यवसायीहरुले ल्याव परीक्षणको व्यवस्था मिलाउन सकियो भने दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर सुधार हुने भनाई राखेका थिए ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पु¥याएको योगदानलाई आत्मसात गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सन् २००१ देखि जुन १ तारिखमा विश्व दूध दिवस मनाउन सुरु गरेको थियो । त्यस्तै नेपालले पनि सन् २०११ देखि जुन १ मै यो दिवस मनाउन थालेको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले जनस्वास्थ्यसंग जोडिएको दुग्ध व्यवसाय गर्दा मापदण्डको पालना गरेर व्यवसाय गर्न आग्रह गर्नुभयो । उहाँले दर्ता नभई सञ्चालन भएका दुग्ध व्यवसायलाई दर्ता गरेर मात्रै सञ्चालन गर्न आग्रह गर्दै अनुगमनका क्रममा दर्ता नभई सञ्चालन गरेको भेटिएमा कानुनी कारवाही गरिने पनि चेतावनी दिनुभयो ।

उहाँले नगरपालिकाले कास्टिक सोडालाई निरुत्सायित गरेका कारण विगतको तुलनामा बुटवल उपमहानगरपालिका भित्र दुधको गुणस्तरमा सुधार आएको पनि दावि गर्नुभयो । दुधको गुणस्तर सुधारका लागि नगरपालिकाले गर्नुपर्ने कुरा गर्नको लागि तयार रहेको बताउँदै व्यवसायिलाई पनि जिम्मेवार बन्न आग्रह गर्नुभयो । उहाँले पशुपालक किसानलाई संरक्षण गर्न सकिएन भने दुध तथा दुग्धजन्य पदार्थको व्यवसाय पनि नरहने बताउँदै किसानमैत्री हुनको लागि डेरी उद्योगीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले रुपन्देहीमा दुधको विविधिकरण तथा दुग्ध व्यवसाय विकासमा संघको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले उत्पादक र उपभोक्ता विचको फराकिलो मुल्य अन्तरले यसको व्यवसायिक विकास र उपभोगमा समेत प्रभाव पारेको भनाई राख्नुभयो । त्यस्तै वेलावेलामा दुग्ध उत्पादक र उद्योगी विच हुने किचलो र बजारमा आउने दुधको गुणस्तरमा समेत प्रश्न उठ्नु राम्रो नभएको बताउँदै उत्पादक, उद्योगी र व्यवसायी समेत त्यसमा गम्भिर बन्न आग्रह गर्नुभयो । उहाँले दुधमा आत्मनिर्भर भई निर्यातका लागि समेत उच्च सम्भावना रहेकाले दुधलाई विशिष्टिकरण गर्न सम्बन्धित उद्योगीलाई आग्रह गर्दै त्यसमो संघको तर्फबाट सहयोग रहने भनाई राख्नुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवाईले रुपन्देहीमा यदाकदा बाहेक समग्र रुपमा दुधको गुणस्तर सन्तोषजनक रहेको जानकारी गराउनु भयो । दुधको गुणस्तर कायम गर्न दुहुनो गाई भैसीको स्वास्थ्य तथा दुधको सम्पर्कमा रहने सबै कुराको सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।

त्यस अवसरमा नेपाल डेरी एशोसियशन लुम्बिनी प्रदेश अध्यक्ष नारायण न्यौपानेले व्यवसायीहरु एकले अर्कालाई औला देखाउने भन्दा पनि दुधको गुणस्तर सुधार कसरी गर्न सकिन्छ, त्यसतर्फ चिन्तन गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, जिल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, लुम्बिनी दुग्ध विकास आयोजनाका प्रमुख योगेन्द्र शाह, पशुपन्छी तथा मत्य विकास निर्देशनालयका पशुचिकित्सक लोकराज भुसाल, बुटवल उद्योग वाणिज्य संघ डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्याय लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रम संघका महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो ।

 
 
  
 

You may also like