रोहिणी किनारमा नेपाल आयल निगमले ३ अर्बको लगानीमा भन्डारण गृहको निर्माण गर्दै

भैरहवा। नेपाल आयल निगमले भैरहवामा पेट्रोलियम भण्डार गृह बनाउने भएको छ। १३ बिघा क्षेत्रफलमा निर्माण हुने भण्डारण गृह २ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको परियोजना प्रमुख ई. प्रदीप यादवले जानकारी दिए।

६ हजार ६ सय किलोलिटर क्षमताको भण्डारण गृह निर्माणका लागि बुधबार भूमिपूजा गर्दै कामको थालनी गरिएको छ। डिजेल,मट्टितेल र पेट्रोल भण्डारका लागि निर्माण हुने डिपोको लागत ३ अर्ब रहेको छ।

रोहणी खोला किनारमा निर्माण हुने डिपोका लागि तीन महिनाभित्र रिटेलिङ वाल गरिसक्ने यादवले बताए। रुपन्देहीको रोहणी गाउँपालिकामा निर्माण हुने डिपोको २०८१ भित्र परियोजनाको शिल्यान्यास गर्ने र २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य निगमको छ। भण्डारण गृह निर्माण गर्न टेण्डर समेत आह्वान भइसकेको छ।

भण्डारणगृह निर्माण गर्न कुल २० बिघा जग्गा चाहिन्छ। यसमध्ये अहिले १३ बिघा जग्गा खरिद भइसकेको र बाँकी ७ बिघा जग्गा थप खरिद गर्नुपर्ने निगमले बताएको छ। भण्डार गृहको डिजाइन र ड्रइङ काठमाडौं युनिभर्सिटीले बनाइरहेको छ।

निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काले रुपन्देहीको रोहिणी नदीको खोला नजिकै प्रतिकट्ठा १० लाख ५३ हजारका दरले १४ बिघा जग्गा २०७५ सालमा खरिद गरेका थिए। उक्त जग्गा खरिद प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक खड्काले २२ करोड ५५ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठहर गरेको थियो। रोहिणी खोलाको किनारमा जग्गा भएकाले खोलाको पानी आउन नदिन अहिले जग्गा सम्याएर २ मिटर माथि उठाउने (फिलिङ) काम सुरु भएको हो।

 
 
  
 

You may also like