बैशाख ७ गतेदेखि शालिग्राम महोत्सव हुँदै

बुटवल । शालिग्राम महोत्सव वर्ष २०८१ अन्तर्गत यही बैशाख ७ गते धार्मिक मार्ग यात्रा सुरु हुने भएको छ । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठानको आयोजनामा सिमानाका सुनौलीबाट यात्रा सुरु हुने भएको हो । धार्मिक मार्ग यात्रा सोही दिन गुल्मी, पाल्पा र स्याङजाको संगमस्थल रुरु क्षेत्र पुगी शालिग्राम महोत्सवको घडा स्थापना हुने छ । रुरु क्षेत्र अर्थात रिडीमा धार्मिक विद्वान, पर्यटन व्यवसायी र सरकारी प्रतिनिधीबीच शालिग्राम र महोत्सवको विषयमा छलफल हुने प्रतिष्ठानकी अध्यक्ष रचना पन्तले जानकारी दिनुभयो । यात्रासँगै शालिग्राम महोत्सव वर्ष बैशाख ७ देखिनै सुरु हुने उहाँले जानकारी दिनुभयो । 

धार्मिक मार्ग यात्रा अन्तर्गत ८ गते मुक्तिनाथको लागि प्रस्थान गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो । सोही दिन बेलुका जोमसोम पुगिने र ९ गते मुक्तिनाथ धामको दर्शन गरिने छ । यात्रामा नेपाल र भारतका पर्यटन व्यवसायी पत्रकारहरु सहभागी हुने छन् ।

कालीगण्डकीमा मात्र पाइने शालिग्राम विश्वभरका हिन्दुधर्मलम्बीले पुज्ने गर्दछन् । शालिग्राम शिलाको महत्वको बारेमा अन्तर्राष्ट्रिय रुपमा प्रचार र प्रवद्र्धन गर्नको लागि शालिग्राम महोत्सव वर्ष २०८१ आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो । महोत्सवले धार्मिक पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास र रोजगारी सिर्जनामा समेत टेवा पुग्ने पन्तले जानकारी दिनुभयो ।

शालिग्राम महोत्सव वर्ष अन्तर्गत कात्र्तिकमा शालिग्राम महायज्ञको आयोजना हुने छ । महायज्ञमा उत्तर प्रदेश सरकारका मुख्यमन्त्री आदित्यनाथ योगी सहित धार्मिक गुरुहरुलाई निमन्त्रणा गरिएको छ ।

महोत्सव वर्ष अन्तर्गत २४ वटा एकादशी र एक पूर्णिमामा गरि २५ वटा कार्यक्र गरिने पत्रकार सम्मेलनमा बताइएको थियो । त्यस्तै महायज्ञ स्तम्भ निर्माण, चर्चा परिचर्चा, गोष्ठि, सभा सम्मलेन हुने छ । महोत्सवमा १५ लाख धार्मिक पर्यटक रुरु क्षेत्र ल्याउने उदेश्य राखिएको छ । चैत्रमा शालिग्राम महोत्सव २०८१ को समापन हुने छ । 
 

 
 
  
 

You may also like