ड्रिम युनिक रुपन्देही सुपरलिगः स्टार १४६ रनले विजयी

भैरहवा ।स्टार क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बुधबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा बुटवल युथमाथि सहज जित निकालेको छ । स्टारले बुटवलाई १ सय ४६ रनले हराउँदै जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको स्टारले निर्धारित ५० ओभरमा ३०.१ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा २ सय ४३ रनको उच्च योगफल बनायो । उसका लागि आरिफ खाँनले ८८ रनको अर्धशतकीय पारी खेल्दा इरफान खाँनले ४०, अंकित बीएमले २४, सुभम खनालले अविजित ११ र रञ्जित मौर्यले १० रनको योगदान दिए । बलिङमा बुटवल युथका विनित अधिकारीले ३, अजय चौधरी र अनिल चौधरीले समान २–२ तथा प्रविण ढकालले १ विकेट हात पारे ।

२ सय ४४ रनको उच्च लक्ष्य पछ्याएको बुटवल युथ ३८.२ ओभरमा अलआउट हुँदै ९७ रन मात्रै बनाउन सक्यो । उसलाई सस्तैमा रोक्न बलिङमा स्टारका सुभम खनालले ४, निरज मौर्य र सुभम पाण्डेले २–२ तथा आरिफ खाँन र पुरुषोत्तम भट्टराईले १–१ विकेट लिन सफल भए । बुटवलका राजिव परियारले १९, अजय चौधरीले १७, सोनु मल्लाहले १४, विनित अधिकारीले ११ र अभिषेक पटवाले १० रन बनाए । स्टारका आरिफ खाँन म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

 
 
  
 

You may also like