पश्चिम नेपाल बस ब्यबसायीद्वारा बिभिन्न महानुभावहरुलाई बधार्ई तथा सम्मान कार्यक्रम

बुटवल। पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा नवआगन्तुक प्रहरी उपरिक्षक सहित रुपन्देहीका विभिन्न संघ संस्थाहरुमा नवनिर्वाचत अध्यक्ष तथा पदाधिकारीहरुलाई एक समारोहका विच स्वागत तथा सम्मान गरिएको छ । प्रालिले हालै मात्र बुटवलमा सरुवा भै आएका नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरिक्षक श्यामबहादुर खत्रीलाई स्वागत तथा सम्मान गरेको छ ।

यसैगरि प्रालिले पश्चिमाञ्चल यातायात व्यवसायी समितिको हालै सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष टिकाराम गौतम लगाएत पदाधिकारीहरु, उद्योग व्यापार संघ बुटवलका निर्वाचित अध्यक्ष विष्णुप्रसाद पाण्डे तथा पदाधिकारीहरुलाई पनि सम्मान गरेको छ ।

सो अवसरमा बोल्दै नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरिक्षक श्यामबहादुर खत्रीले सवारी दुर्घटनालाई कम गर्ने र हुन सक्ने विपदबाट सडक, पैदलयात्री तथा सवारीको सुरक्षा गर्ने बारेमा आफुहरु हरपल सचेत र सजग रहेको बताए । प्रहरी उपरिक्षक खत्रीले पछिल्लो समय यसक्षेत्रमा भएका २ ठुला दुर्घटनाहरुमा अनुसन्धान गर्दा चालककै लापर्वाही देखिएकाले अझैपनि चालकहरुलाई प्रशिक्षणको खाँचो रहेको बताए ।

स्वागत तथा सम्मान कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले यातायात ब्यबसायी र उद्योगी व्यापारीहरु बिचको सहकार्य आवश्यक रहेको चर्चा गर्दै एकताबद्ध भएर अघि बढेमा हरेक समस्या समाधान गर्न सकिने बताए । यातायात क्षेत्रका विकराल समस्या हुदाहुदै पनि आफुहरुले हरक्षण जनतालाई सेवा प्रवाह गरेको दावी गर्दै कसरी सवारी दुर्घटना कम गर्ने र यात्रुहरुलाई गुणस्तरिय सेवा दिने भन्ने बारेमा सधै सचेत र सजग रहेको पनि बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका नवर्निचित अध्यक्ष टिकाराम गौतमले भारतिय ठुला सवारी साधनलाई निर्वाधरुपमा नेपाल प्रवेश गराउने परिपार्टीबाट यातायात व्यवसायीहरु मारमा परेको बताउदै यसलाई ट्राफिक प्रहरीले आवश्यक छानविन गर्न र नियन्त्रण गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा उद्योग व्यापार संघबुटवलका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद पाण्डे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पुर्व अध्यक्ष चोपनारायण श्रेष्ठ,पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.का संंचालक नारायण घिमिरे, प्रवन्ध संचालक रामचन्द्र भुसाल लगाएतले नेपालको बिकासमा यातायात क्षेत्रले पुराएको योगदानको चर्चा गर्दै यातायात क्षेत्रलाई थप ब्यबस्थित र मर्यादित बनाउदै लैजानु पर्ने कुरामा जोड दिएका थिए ।

सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन न आउदासम्म यातायात व्यवसायी र यातायात क्षेत्रको विकास हुन नसक्ने बताउंदै बजार मुल्य र तेलको मुल्य आकाशिदै जानु बैज्ञानिक भाडादर कायम नहुनु आदी कारणले गर्दा व्यवसायीहरु दिन प्रतिदिन यो क्षेत्रबाट पलायन हुन वाध्य भएको कार्यक्रममा सहभागिहरुले बताएका थिए ।

 
 
  
 

You may also like