देवदह नगरपालिकाको मेयर र प्रशासकीय अधिकृतको कार्यकक्षमा जनप्रतिनीधिको ताला

by समतल अनलाइन

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नगरप्रमुख र प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा वडाअध्यक्षहरुले ताला लगाईदिएका छन् । १२ वटा वडा रहेको देवदह नगरपालिकामा ७ जना वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु समेतले सोमबार ताला लगाईदिएका हुन् ।

नगरप्रमुख र प्रमुख कार्यकारी अधिकृतको मिलेमतोमा दम्भकासाथ एकलौटी गर्दै आएको र त्यसलाई सुधारको लागि धेरै प्रयास गर्दा पनि आफूहरुको कुरामा कुनै सुनुवाई नभएकाले कार्यकक्षमा ताला लगाउनु परेको वडा नं. १० का अध्यक्ष यकबहादुर सुनारले बताउनु भयो । उहाँले कार्यकालको प्रारम्भदेखि नै कार्यपालिका भित्रका छलफलमा बहुमतको बलमै निर्णयहरु स्थापित गर्ने दम्भको संस्कार बसाल्ले प्रयत्नहरु निरन्तर भइरहेको र आफूहरुको संवाद तथा वार्ताको प्रयासमा समेत कुनै सुनुवाई नभएकाले ताला लगाउन वाध्य भएको उहाँले बताउनु भयो ।

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भूमिका पक्षपातिपूर्ण र एकात्मक रहेको आरोप लगाउँदै नगरप्रमुख, उपप्रमुख सम्बन्धित कोष तोक आदेशका भरमा योजना सम्झौता गरि भुक्तानी गर्ने गरेको, आफ्नो व्यक्तिगत मन्दिरमा रकम विनियोजन गरेको र वडाको सिफारिस विनै रकम निकासा भएको, मिति २०५०/०८/२० गते नदिजन्य पदार्थ चोरी भएकोमा जिल्ला प्रशासन कार्यालयले टेक्टर, जेसिभि पक्राउ गरि कारवाहीको लागि सिफारिस भएकोमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मिलेमतोगरी विना कारवाही छाडिएको पनि आरोप लगाईएको छ ।

त्यस्तै नगर स्तरीय खेलकुद समिति गठन प्रक्रियामा कार्यपालिका भित्र असहमति हुँदाहुँदै जवरजस्ती एकलौटी रुपमा गर्न खोजिएको पनि आरोप लगाईएको छ । यस अगाडि पुसको १७ गते बसेको कार्यपालिका बैठकमा प्रस्तावित विषयहरुमाथि सहमति नजुटेपछि ७ जना वडा अध्यक्ष र १ जना कार्यपालिका सदस्य समेत गरी आठ जनाले बैठक वहिस्कार गरिएपनि बहुमतको दम्भ देखाएर मनोमानी निर्णय गरेको आरोप लगाईएको छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृतलाई सम्पन्न निर्माण योजनाको भुक्तानीमा वडाबाट सिफारिस हुँदा पनि दुःख दिने, जनप्रतिनीधिहरुलाई आपसमा लडाउने काम गरेको आरोप छ ।
नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीमा असहमती देखाउँदै वडा नं. १० का वडा अध्यक्ष यकबहादुर सुनार वडा नं. ३ का अध्यक्ष यज्ञप्रसाद अर्याल, वडा नं. ९ का अध्यक्ष मोहनबहादुर जिसी, वडा नं. १२ का अध्यक्ष डेगबहादुर सारु, वडा नं. १ का अध्यक्ष दीपक नेपाल, वडा नं. ६ का अध्यक्ष दमननाथ रेग्मी, वडा नं. ७ का अध्यक्ष दुधनाथ यादव सहित कार्यपालिका सदस्य र नगर सभा सदस्य गरी २२ जनाले हस्ताक्षर गरेर विज्ञप्ती जारी गरिएको छ ।

जनप्रतिनीधिहरुले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउँदा प्रहरी प्रशासन र जनप्रतिनीधि विच धकेलाधकेल भएको थियो ।

यस विषयमा देवदह नगरपालिकाका नगरप्रमुख धु्रुवप्रसाद खरेलले बैठकमा पनि नआउने, सम्वादमा बोलाउँदा पनि नआउने र आफूहरुको एकोहोरो कुरा मात्रै गरेर समाधान नहुने बताउँदै यस अगाडि भएका निर्णयबाट पछि हड्न नसकिने बताउनु भयो ।

 
 
  
 

You may also like