कन्टेनरमा लुकाएर ल्याउँदै गरेको ३० लाख बढीको अवैध कपडा बरामद

by समतल अनलाइन

भैरहवा । रुपन्देही प्रहरीले ३० लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार राति करिव साढे १० बजे सिद्धार्थनगर नगरपालिका– ८ सिटी अस्पताल चोकस्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा जुत्ता र विभिन्न प्रकारका कपडा बरामद गरेको हो ।

मकवानपुर थाहा नगरपालिका–४ का ४२ वर्षीय रामचन्द्र खत्रीले ना ३ ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा लोड गरी लैजान लागेको अवस्थामा थानको कपडा १४ हजार ६३६ मिटर, लेडिज जुत्ता ३४० जोडी, नेट कपडा ५ हजार १०४ मिटर, दोसल्ला ४४२ पिस र साडी ६१२ पिस गरी ट्रकसहित कुल ३० लाख ६२ हजार २ सय ४० मूल्य बराबरको अवैध बस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।

बरामद सामान, ट्रक र मानिस आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालयको युनिटले आइतबार बिहान ५ बजे ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा भारतबाट अवैध रूपमा भित्र्याएको प्याज नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालर्फ भन्सार छली गरी लु ८ प ११३५ र युपी ५५ जेड ९२८८ नम्बरको मोटरसाइकलमा ओसारपसार गर्दै गरेको र डम्पिङ गरी राखेको अवस्थामा १३६ बोरा प्याज नियन्त्रणमा लिइएको सूचना अधिकारी भट्टले जानकारी दिए । प्याज र मोटरसाइकलको मूल्य ४ लाख ५२ हजार ५ सय रहेको कार्यालयले जानकारी दिएको छ । बरामद सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

 
 
  
 

You may also like