चण्डको छटपटी : हेग हल्ला र ज्ञानेन्द्रमाथि आक्रोश

काठमाडौँ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय सार्वजनिक रुपमा दिएका अभिव्यक्तिका कारण चर्चामा रहेका छन् ।

प्रचण्ड धेरै जसो आफ्ना अभिव्यक्तिका कारण नेपालको राजनीतिलाई नै तरंगित बनाउन माहिर मानिन्छन् । केहिसमय अघि आधा आधा समय सरकारको नेतृत्व गर्ने सम्झौता भएको हो भन्दै सत्तारुढ दल नेकपा भित्र नै तरंग ल्याइदिए । त्यसअघि मन्त्रीमण्डल पुनर्गठन हुदै छ भनेर सरकारलाई नै अप्ठ्यारोमा पारेका थिए । अहिले पार्टीमा स्कुल विभागलाई लिएर विवाद चलिरहेका बेला प्रचण्डले सबैको ध्यान हेग र पुर्व राजा ज्ञानेन्द्रप्रति केन्द्रित गराइदिएका छन् ।

प्रचण्डले दिएका दुई अभिव्यक्ति हेगको प्रसंग र पुर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट लखेट्ने अभिव्यक्ति अहिले राजनीतिमा चर्चाका विषय बनेका छन् ।

एकबर्षभन्दा बढीसमयको नेकपाको एकीकरण प्रक्रिया बिचमा छोडेर दबईको छोटो पारिवारिक भ्रमण सकेर स्वदेश फर्किएको अर्को दिन नै प्रचण्डले पुर्व राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट लखेट्ने चेतावनी दिए । सिन्धुलीमा पुलको उद्घाटन गर्ने क्रममा प्रचण्डले सो चेतावनी दिएका थिए ।

प्रचण्डले ज्ञानेन्द्रलाई उदारतापुर्वक नागार्जुनमा सुरक्षासहित बस्न दिएको बताउदै अहिले ८-१० बर्षमै संघीय लोकतान्त्रिक गणतन्त्रका बिरोधमा उत्रिएको आरोप लगाए । प्रचण्डले गणतन्त्रको रक्षा गर्न लाखौ बलिदान दिन तयार रहेको समेत बताए ।

उनले भने, ‘हिजो राजा महाराजाको चाकडी र गुलामी गर्ने केही त्यस्ता दलाल र दासहरु सरकार होइन सिस्टम नै फेर्ने दिन आयो भन्न थालेका छन् । जम्मा डेढ वर्ष भयो सरकार बनेको, स्थानीय तहको निर्वाचनदेखि गन्दा पनि दुई वर्ष हुँदैछ । दुई वर्ष पुगेकै छैन तर तिनीहरुले सिस्टम बदल्ने कुरा गरेका छन् । एकथरी मान्छेले राजालाई ल्याउँछौं भनेको सुन्नुभएको पनि होला । म यो मञ्चमा बसेर देशभरका जनतालाई अपील गर्न चाहान्छु । तिनीहरुले नेपाली जनतालाई रैती र दास बनाउने सपना देखेका छन्, त्यो कहिल्यै पुरा हुने छैन ।

त्यसलाई कुनै हालतमा पुरा हुन दिइने छैन । हामी सानो दुःख, त्याग र बलिदानले यो ठाउँमा आएका होइनौं । हामीलाई कसैले दया माया गरेर कम्युनिष्ट पार्टीलाई दुई/तिहाई दिएको होइन ।’

त्यस्तै प्रचण्डले साउन १३ गते खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्नेहरूलाई स्वागत गर्ने क्रममा प्रचण्डले आफूलाई हेग (अन्तर्राष्ट्रिय अदालत) लगे संसारकै हिरो बन्ने अभिव्यक्ति दिएका थिए ।

उनले भनेका थिए, ‘हेग लगेर पनि मलाई केही फरक पर्नेवाला छैन। हेग लगे भने त म झन् विश्वकै हिरो भएर निस्कन्छु ।’

अहिले सामाजिक संजालदेखि मिडिया सम्म प्रचण्डको हेग प्रसंग र ज्ञानेन्द्रलाई दिएको चुनौती चर्चामा रहेको छ । अहिले नै प्रचण्डले यस्तो चुनौती किन दिए त भन्ने बहस जारी नै रहे पनि गणतन्त्रको विकल्प खोज्न थालिएकोमा उनले आक्रोश पोखेको एक थरिको टिप्पणी रहेको छ । तर यसको अर्को पक्षपनि प्रचण्ड सहितका नेताहरुले बुझ्न जरुरी छ ।

संवेदनशील विषयमा प्रचण्ड सार्वजनिक मञ्चमा हल्का रूपमा बोलेको भन्दै टिप्पणी भएको छ । प्रचण्डले भने जस्तो हेगको बाटो त्यति सजिलो नभएको थाहा हुदा हुदै प्रचण्डले दिएको अभिव्यक्ति बारे अनेकौ अर्थ लगाइएको भएपनि उनका पछिल्ला अभिव्यक्ति आफ्नै पार्टीको अन्तरद्वन्दका कारण आएको समेत बताइएको छ ।

नेदरल्यान्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराधलगायत गम्भीर विषयका मुद्दा हेर्ने गर्दछ । नेपाल रोम विधानको पक्ष राष्ट्र नै होइन । त्यसैले यहाँको द्वन्द्वकालीन मुद्दा हेगको अधिकार क्षेत्र सजिलै पर्ने अवस्था छैन । नेपालले अन्तर्राष्ट्रिय सन्धि रोम विधानमा हस्ताक्षर गरेको छैन । यहाँको भूराजनीतिक परिवेश, दुई ठूला छिमेकीको गहिरो नजर र चलखेलका कारण पनि त्यो सम्भावना कठिन रहेको देखिन्छ । त्यसकारण प्रचण्डको हेग अभिव्यक्ति असान्दर्भिक देखिन्छ ।

अर्को पूर्वराजा ज्ञानेन्द्रलाई दिएको चुनौती पनि प्रचण्डले भने जस्तो राजतन्त्र आइहाल्ने अवस्था नरहेकोले असान्दर्भिक र उत्तेजित पार्ने अभिव्यक्तिका रुपमा लिन सकिन्छ ।

देश अहिले निर्वाचनपछि एउटा स्थीर राजनीतिक दिशा तर्फ केन्द्रीत भएको छ । कमल थापाको राप्रपा बाहेक अन्य दलहरु अहिले राजतन्त्र ल्याउने पक्षमा देखिएका छैनन् । उनीहरुको संसदमा उपस्थिति केवल एक सिटमा छ । यस्तोमा प्रचण्डले ज्ञानेन्द्रले चलखेल गरे भनेर उफ्रिनुको कुनै अर्थ देखिदैन ।

बरु यसको साटो सरकारलाई विकासमा केन्द्रीत गराएर जनताका समस्या समाधान गरे जनताको अपेक्षा पुरा हुने छ र कुनै तन्त्रदेखि तर्सिनु पर्ने अवस्था आउने छैन । सरकार आफ्नै हातमा भएको बेला आफुले बाचा गरे अनुसार काम गर्न नसकेर कहिले ज्ञानेन्द्रले चलखेल गरे कहिले पहिला काँग्रेसले बिगारेको थियो भनेर उम्किने प्रयास गरिरहे जनताले विकल्प खोज्ने दिन धेरै टाढा हुदैन नै ।

देशभर बनाइएका स्थानीय तहदेखि संघीय सरकारसम्म अनेकौ अनियमितता र काण्ड तथा प्रकरणमा मुछिएका छन् । सरकारले विकासलाई गति दिन सकेको छैन । बाढी, पहिरो, सुख्खाले आम जनता आक्रान्त रहेका छन् । सरकारी अड्डा भ्रष्ट्राचारको अखडा बनेका छन् । सडक बर्षामा हिलाम्य र हिउदमा धुलोले भरिएका छन् । यस्तोमा आम जनतामा आएको चरम निराशालाई रोक्न न त सरकारले सकेको छ नत प्रचण्डले नै । यस्तो अवस्थामा आदर्शका भाषण गरेर जनता कसरी उचालिन्छन् त ?

 
 
  
 

You may also like