मेयरका भाइ अध्यक्ष र प्रअ भएकै विद्यालयमा बालबालिकाको खाजामै अनियमितता

by समतल अनलाइन

रौतहट । सरकारले सामुदायिक विद्यालयमा सञ्चालन गरेको दिवा खाजा कार्यक्रम चन्द्रपुर नगरपालिका क्षेत्रका विद्यालयमा प्रभावहीन देखिएको छ ।

पाँच कक्षासम्मका बालबालिकाका लागि सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । कार्यक्रमअन्तर्गत सरकारले एक जना विद्यार्थी बराबर दैनिक १५ रुपैयाँका दरले रकम उपलब्ध गराउँछ ।

तर, चन्द्रपुर नगरक्षेत्रका अधिकांश विद्यालयले खाजाको नाममा विद्यार्थीलाई पाँच रुपैयाँको बिस्कुट र १० रुपैयाँको चाउचाउ बाँड्ने गरेको गुनासो अभिभावकले गरेका छन् । विद्यालयले जंकफुड खुवाउँदा समेत नगरपालिकाको शिक्षा शाखाले कुनै चासो देखाएको छैन ।

जाउलो, खिर र चना खुवाउनुपर्ने

सरकारले कक्षा पाँचसम्मका बालबालिकालाई दैनिक जाउलो, चना, खिरलगायतका खानेकुरा खुवाउनुपर्ने व्यवस्था गरेको छ । तर, चन्द्रपुरका अधिकांश विद्यालयले पकाएर खुवाउँदा खर्चिलो र झन्झटिलो हुने भन्दै विद्यार्थीलाई पाँच रुपैयाँको बिस्कुट दिएर टार्ने गरेका अभिभावकको आरोप छ ।कतिपय विद्यालयले एक विद्यार्थीबराबर प्रतिदिन करिब १० रुपैयाँ हिनामिना गर्दा पनि नगरपालिकाले बेवास्ता गर्दै आएको एक अभिभावकले बताए ।
खाजाले विद्यार्थी आकर्षित भएनन्
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सरकारले बालबालिकालाई खाजा कार्यक्रम सञ्चालन गरेको हो । तर, चन्द्रपुर नगरपालिका क्षेत्रमा भने खाजा कार्यक्रमप्रति विद्यार्थी आकर्षित हुन सकेका छैनन् । चन्द्रपुर नगरपालिकामा उपसचिव कृष्णप्रसाद सिग्देल आएपछि नगरको शैक्षिकस्तर झनै खस्कन थालेको आरोप एक शिक्षकले लगाए ।

चन्द्रपुर नगरपालिकामा ४६ वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये २३ वटा प्रावि तहका मात्रै छन् । सबै विद्यालयमा खाजा कार्यक्रम लागू छ । तर,नगरपालिकाको शिक्षा शाखाको लापारबाहीले विद्यार्थीको संख्या बढ्न नसकेको र शिक्षाको गुणस्तर पनि खस्किँदै गएको शिक्षक गगनदेव यादवले बताए ।

शिक्षा शाखाको बेवास्ता

नगरपालिकाको शिक्षा शाखा नगरपालिकाका उपसचिव कृष्णप्रसाद सिग्देलले हेर्दै आएका छन् । चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र मण्डलका भाइ देवानन्द चौधरी प्रअ र अर्का भाई अखिलेश चौधरी अध्यक्ष रहेको सुबलाल भागवत माध्यमिक विद्यालयमै खाजाका नाममा बिस्कुट बाँड्ने गरिएको छ । यसरी नियमविपरित बालबालिकालाई बिस्कुट र चाउचाउ बाँड्दा समेत सिग्देलले कारबाहीका लागि कुनै पहल नगरेको एक कर्मचारीले बताए ।

चन्द्रपुर नगरपालिका क्षेत्रका विद्यालयमा कक्षा पाँचसम्म अध्ययन गर्ने करिब आठ हजार विद्यार्थी छन् । यत्तिका विद्यार्थीलाई खाजा खुवाउन आएको रकममा अनियमितता हुँदा समेत नगरपालिकाको शिक्षा शाखा मौन बस्नु खेदजनक भएको अभिभावक रवि थापाले बताए ।

चन्द्रपुर नगरपालिकाका मेयर चौधरीले बालबालिको खाजाका लागि आएको रकममा अनियमिता भएको पाइए त्यस्ता विद्यालयमाथि कडा कारबाही गरिने बताए । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like