रुकुम पश्चिममा जीप भेरी किनारमा खस्यो, २२ घाइतेमध्ये सात जनाको अवस्था गम्भीर

by समतल अनलाइन

रुकुम पश्चिम । रूकुम पश्चिममा २२ यात्रु बोकेको जीप भेरी नदी किनारमा दुर्घटना भएको छ । सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका–८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठले जीप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको जानकारी दिए । जीपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको उनले बताएका छन् ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पुर्‍याइएको छ । जीपमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like