क्रिकेट विश्वकपको सेमिफाइनलमा भारत र न्यूजील्याण्ड भिड्दै

by समतल अनलाइन

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुदैछ । सेमिफाइनलको पहिलो खेलमा आज आयोजक भारतले न्यूजील्याण्डको सामना गर्दै छ ।

मुम्बईस्थित वान्खेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुने छ ।

जारी विश्वकपमा भारत लिग चरणमा अपराजित रहदै सेमिफाइनलमा पुगेको हो । लिग चरणमा खेलेका ९ खेलमा जित हासिल गरेको भारत अंकतालिकामा शिर्ष स्थानमा रहेको थियो ।

त्यसैगरी न्यूजील्याण्ड भने लिग चरणमा खेलेका ९ खेलमा ५ खेलमा जित हासिल गर्दै अंक तालिकामा चौथो हुदै सेमिफाइनलमा पुगेको हो ।

आयोजक भारत यस विश्वकपमा अहिलेसम्म अपराजित रहेको छ । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई पराजति गरेपछि अफगानिस्तान, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, इङ्ल्यान्ड, श्रीलंका र दक्षिण अफ्रिकामाथि एकतर्फी जित दर्ता गरेको थियो ।

त्यस्तै न्यूजील्याण्डले विश्वकपमा शानदार शुरुवात गर्दै शुरुका चार खेलमा जित हासिल गरेको थियो भने त्यसपछिका चार खेलमा हार बेहोरेको थियो । त्यस्तै अन्तिम खेलमा श्रीलंकालाई पराजित गरेर सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । न्यूजील्याण्डले ईङल्याण्ड, नेदरल्याण्डस, बंगलादेश र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यसपछि भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका र पाकिस्तानसँग पराजित भएको थियो भने लिग चरणको अन्तिम खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

आइसीसी नकआउट चरणमा भारतमाथि न्यूजील्याण्ड हावि

भारत र न्यूजील्याण्ड लगातार दोस्रो पटक एकदिवसीय विश्वकपको सेमिफाइनलमा भिड्दैछन् । यसअघि २०१९ मा पनि यी दुई टोलीबीच प्रतियोगिताको पहिलो सेमिफाइनल भएको थियो ।

आईसीसी प्रतियोगिताको नकआउट चरणमा चौथो पटक भारत र न्युजील्याण्ड भिड्दैछन् । यसअघि दुवै टोली विभिन्न प्रतियोगिताको नकआउटमा तीन पटक आमनेसामने भएका थिए भने प्रत्येक पटक न्युजील्यान्डले जित हासिल गरेको थियो ।

२०१९ को विश्वकप बाहेक २००० च्याम्पियन्स ट्रफी र २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि यी दुबै आमनेसामने भएका थिए । त्यसैले यस पटक घरेलु मैदानमा विश्वकप जित्ने दाउमा रहेको भारतले सेमिफाइनलमा न्यूजील्याण्ड प्रतिद्वन्दी पाएपछि झस्किएको छ । अझ यसमा रोचक के छ भने यस पटक पनि २०१९ को जस्तै अवस्था रहेको छ । त्यतिबेला पनि भारत अंक तालिकाको शीर्षस्थानमा थियो र न्युजिल्यान्ड नम्बर ४ मा थियो, यसपटक पनि अवस्था उस्तै छ ।

सन् २०१९ मा म्यानचेस्टरको मैदानमा भएको सेमिफाइनल खेलमा न्युजील्याण्ड १८ रनले विजयी भएको थियो ।

क्रिकेटका तीनवटै फर्म्याटमा भारत र न्यूजील्याण्डबीच कडा प्रतिस्पर्धा भइरहेको छ । यी दुई टोलीबीच एकदिवसीय क्रिकेटमा हालसम्म १०९ खेल भएका छन् । न्युजिल्यान्डले ५० र भारतले ५९ जित हात पारेको छ । ७ खेल निर्णायक र एक खेल बराबरीमा परेका छन् ।

एकदिवसीय विश्वकपमा न्युजील्याण्डले सधैं भारतमाथि हावि हुदै आएको छ । टोलीले सन् २००३ पछि सन् २०१९ सम्म भारतलाई विश्वकपमा एउटै पनि खेल जित्न दिएन, तर यसपटक भारतले लिग चरणमा न्युजील्यान्डलाई पराजित गरेको थियो । टोलीले २० वर्षमा विश्वकप क्रिकेटमा न्यूजील्याण्डलाई हराएको यो पहिलो पटक हो ।

लिग चरणमा मुम्बईमै भएको खेलमा भारतले न्यूजील्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।

एकदिवसीय हेड टू हेड

भारत र न्यूजील्याण्डबीच अहिलेसम्म ११७ एकदिवसीय खेल भएका छन् । जसमा भारतले ५९ खेल जितेको छ भने न्यूजील्याण्डले ५० खेल जितेको छ । त्यस्तै ७ खेलको नतिजा आएको थिएन भने के खेल बराबरीमा सकिएको थियो ।

यस विश्वकपमा अलराउण्डर हार्दिक पाण्डेय घाइते भएर बाहिरिएपछि भारत दबाबमा आएको थियो । तर भारतले त्यसको असर खेलमा भने हुन दिएन । भारतले हार्दिक बाहिरिएपछि बलर मोहमद शामी र ब्याट्सम्यान सुर्यकुमार यादवलाई खेलाइरहेको छ । भारतको यो निर्णय अहिलेसम्म सहि साबित भएको छ । मोहमद शामीले पाँच खेलमा १६ विकेट लिएका छन् । त्यस्तै सुर्य कुमार यादवले ब्याटिंग गर्ने राम्रो अवसर नपाएपनि उनको मैदानमा उपस्थितिले फिल्डिङमा समेत राम्रो योगदान पुगेको छ । न्यूजील्याण्डसँगको यस वारपारको लडाईमा भारतले अहिले खेलिरहेको टिमलाई नै निरन्तरता दिने देखिन्छ ।

त्यसैगरी न्यूजील्याण्डका नियमित कप्तान केन विलियम्सन यस विश्वकपको शुरुवातमा खेल्न नसकेपनि लिग चरण सकिदै गर्दा उनी खेले र राम्रो प्रदर्शन समेत गरिरहेका छन् । केनको इन्जुरी ठिक भएपछि न्यूजील्याण्ड पनि भारतलाई चुनौती दिन तयार देखिएको छ । त्यस्तै युवा खेलाडी रचिन रविन्द्रको अलराउण्ड प्रदर्शनले न्यूजील्याण्डको यस विश्वकपमा आत्मविश्वास बढाएको देखिन्छ । भारतविरुद्धको खेलमा न्यूजील्याण्ड पछिल्लो खेलकै टिम खेल्ने देखिन्छ ।

भारतको सम्भावित प्लेइङ ११- रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सुर्यकुमार यादव, रविन्द्र जडेजा, मोहमद शामी, कुलदीप यादव, जसप्रित बुमराह र मोहम्मद सिराज ।

न्यूजील्याण्डको सम्भावित प्लेइङ ११- केन विलियम्सन (कप्तान), टम लाथम, डेभोन कोनवे, रचिन रविन्द्र, डार्यल मिचेल, ग्लेन फिलिप, मार्क चापम्यान, टिम साउथी, मिचेल सान्टनर, माट हेनरी र ट्रेन्ट बोल्ट ।

 
 
  
 

You may also like