देशैभरका चलचित्रकर्मी रुपन्देही आउँदै, रुपन्देही चलचित्रमय हुने

by समतल अनलाइन

झविन्द्र देवकोटा
बुटवल । देशैभरका चलचित्रकर्मीहरु माघमा रुपन्देही आउने भएका छन् । रुपन्देहीको भैरहवामा माघमा हुन थालेको चलचित्र महोत्सवमा सहभागि हुनका लागि सिनेजगतका कलाकार, निर्देशक, निर्माता, रचनाकार लगायतका चलचित्रकर्मीहरु रुपन्देही आउने भएका हुन् । आउने माघको २४ गतेदेखि २८ गतेसम्म पाँच दिन रुपन्देहीमा चलचित्र महोत्सव हुन थालेको छ । चलचित्र महोत्सवमा सिनेजगतका डेढ सयबढी हस्तिहरु रुपन्देही आउने भएका हुन् । रुपन्देहीको भैरहवालाई केन्द्रविन्दु बनाएर गर्न थालिएको महोत्सवमा विभिन्न चरणका कार्यक्रमहरु गरिने र ति कार्यक्रमहरु रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा गरिने बताइएको छ । चलचित्र विकास बोर्ड नेपालको आयोजनामा हुन थालेको कार्यक्रममा देशैभरका चलचित्रकर्मीहरु सहभागि हुने छन् भने स्थानीय विभिन्न शैक्षिक तथा सामाजिक संघसंस्थाहरुले पनि महोत्सवमा सहभागिता जनाउने बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिनुभयो ।

‘मुलुकको जनसंख्याको झण्डै आधा हिस्सा ओगटेको तराई क्षेत्रमा नेपाली चलचित्रले खासै बजार लिन सकेको छैन, चलचित्रको बजार तराईमा पनि बलियो बनाउनका लागि महोत्सव आयोजना गर्न लागिएको हो’–अध्यक्ष भट्टराईले भन्नुभयो । उहाँले तराईमा नेपाली चलचित्रको बजार विस्तार गर्न तथा नेपाली चलचित्र हेर्ने बानी बसाल्नका लागि पनि तराईमा महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । महोत्सवमा आमा, सिन्दुर लगायतका पुराना चलचित्रसँगै अहिलेको आधुनिक नयाँ चलचित्रहरुहरुको प्रदर्शन तथा तिनको समिक्षा समेत गरिने भएको छ । महोत्सव समयावधिभर जिल्लाका सबै चलचित्र घरहरुमा नेपाली चलचित्र मात्र चल्ने भएका छन् । चलचित्र महोत्सवमा रुपन्देही जिल्लालाई चलचित्रमय बनाईने नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप उदयले बताउनुभयो । उहाँले रुपन्देही जिल्ला भरीका हरेक चलचित्र घरहरुमा मौलिकतामा आधारित चलचित्र प्रदर्शन गरिने उल्लेख गर्दै जिल्लाका एफ।एम रेडियो तथा टेलिभिजनहरुलाई नेपाली चलचित्रकै गीतहरु बजाएर कार्यक्रम गर्न आग्रह गरिने बताउनुभयो

महोत्सव अवधिभर चलचित्रसँगै सम्वन्धित विभिन्न रचनात्मक कार्यक्रम समेत गरिने भएको छ । जसका लागि रुपन्देहीका नेशनल प्याब्सन, प्याब्सन, हिसान लगायतका विभिन्न संस्थागत शैक्षिक संस्थाहरुसँग सहकार्य हुने संघका अध्यक्ष उदयले बताउनुभयो । उहाँले शैक्षिक संस्था तथा विद्यालयको सहकार्यमा रुपन्देहीका प्रत्यक निर्वाचन क्षेत्रमा पुगेर हाजिरी जवाफ, वक्तृत्वकला प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतका प्रतियोगिताहरु गरिने छ भने विभिन्न ब्यवसायिक संघसंस्थाको सहयोगमा चलचित्रको विकासका सम्वन्धमा अन्तरक्रिया र छलफलहरु चलाइने वोर्डले बताएको छ । ‘कार्यक्रमका सबै विषयबस्तु नेपाली चलचित्रसँग सम्वन्धित हुने छन्,– उदयले भन्नुभयो । रुपन्देही जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा छनौट चरणमा पहिलो तीन समुहलाई पुरस्कृत गरिने छ भने प्रथम हुने टिमलाई जिल्ला स्तरको फाईनल प्रतिस्प्रर्धामा सहभागि गराइने छ ।

त्योसँगै कलाकार एघार र मुख्यमन्त्री एघार समुहका बिचमा मैत्रीपूर्ण फूटवल खेल आयोजना गरिएको वोर्डले बताएको छ । विकास बोर्डले यस अगाडी धरान र सुर्खतमा सामान्य चलचित्र महोत्सव गरेको थियो । तर त्यो खासै प्रभावकारी बन्न सकेन । रुपन्देहीमा गरिने महोत्सवले ठुलो उपलब्धि हासिल गर्ने अपेक्षा पनि आयोजकोे छ । त्योसँगै रुपन्देहीका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्र लुम्विनी, भैरहवा, बुटवल, शंकरनगर बनबाटिका, मणिमुकुन्द सेन उद्यान, पिस पार्क, देवदह लगायतका स्थानको अवलोकन विभिन्न चलचित्र विज्ञहरुलाई गराउने र ति स्थानलाई चलचित्र छायांकन स्थलका रुपमा विकास गर्ने लक्ष्य पनि महोत्सवले लिएको वोर्डले जानकारी गरायो ।एक वर्षमा करिव एक सय चलचित्रहरु बन्ने गरेका छन् । नेपाली चलचित्रले खासै बजार पाउन नसकेको गुनासो पनि उत्तिकै छ । बरिष्ठ चलचित्र पत्रकार डबु क्षेत्रीले रुपन्देहीमा हुने महोत्सव एतिहासिक हुने दावी गर्नुहुन्छ । उहाँले यो महोत्सवले नेपाली चलचित्र राम्रा बन्ने र दर्शकलाई हेर्ने बानीको विकास गराउन ठुलो मद्दत पुग्ने विचार राख्नुहुन्छ । करिव २ करोड खर्च अनुमान गरेको महोत्सव सफल बनाउनका लागि चलचित्र विकास वोर्डले एक करोड छुट्याएको छ । बाँकी प्रदेश सरकार, स्थानीय पालिका, पेशागत तथा ब्यवसायिक संघसंस्थासँगको सहकार्यमा महोत्सव हुन थालेको हो । महोत्सव अवधिभर नायक, नायिका, निर्देश, निर्माता लगायतका डेढसय बढी सिने हस्तिहरु रुपन्देहीमै रहने छन् । महोत्सवले नेपाली चलचित्रको विकास र बजार प्रवर्धनका लागि घोषणा पत्र समेत सार्वजनिक गर्ने बताइएको छ ।

 
 
  
 

You may also like