गुल्मीमा किशोरीको बलात्कारपछि हत्या आरोपमा मदरसाका शिक्षक पक्राउ

by समतल अनलाइन

गुल्मी । गुल्मीको शान्तिपुरमा एक १५ वर्षीया किशोरी मनिषा रुचालको बलात्कारपछि हत्या गरेको आरोपमा मदरसाका एक शिक्षक पक्राउ परेका छन् ।

मृतककी आमा धनमाया सार्कीको किटानी जाहेरीका आधारमा बाँकेको खजुरा गाउँपालिका–७ का २३ वर्षीय रहिस खाँ पक्राउ परेका हुन् । उनी पाँच महिनादेखि शान्तिपुरमा बस्दै आएका थिए । सो क्षेत्रमा रहेका करिब दुई सय मुस्लिम परिवारका विद्यार्थीलाई पढाउन खोलिएको मदरसा गुल्सने मदिनामा रहिसलाई त्यहाँ लगिएको थियो ।

मनिषा कात्तिक १७ गते बिहान चन्द्रकोट गाउँपालिकाؘ–४ शान्तिपुरस्थित हुग्दीखोलामा नग्न अवस्थामा मृत फेला परेकी थिइन् । गुल्मी प्रहरीले उनलाई पक्राउ गरी अदालत पेश गर्दै पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका रहिसबिरुद्ध अदालतमा मनिषाको ज्यान सम्वन्धि कसुर र करणीबिरुद्धको मुद्दामा पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानले जनाएका छन् ।

खेतलाहरुलाई सूर्ती किन्न पारी श्रीलंकाटोलकी शान्ति थापाको पसलमा गएर फर्किएकी मनिषालाई खाँले फकाएर बोलाउँदै भित्र लगेर कुकर्म गर्न लाग्दा उनले प्रतिवाद गर्ने क्रममा उनको हत्या गरिएको प्रहरीको प्रारिम्भक निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी डिल्लीनरायण पाण्डेले घटनाको विषयमा प्रहरी नजिक पुगिरहेको र केही विषयका प्रमाणहरु जुटाउँदै गएको बताउँदै घटनाका मुख्य दोषी पक्राउ परेको जनाए ।

स्थानीयले घटनालगत्तै अपराधीलाई कडा कारबाहीको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् । अपराधीलाई कडा कारबाही माग गर्दै अपराधलाई जोगाउन नलाग्न आग्रह गर्दै आएका छन् । शान्तिपुरमा रहेका मुस्लिम अगुवाहरुले पनि अपराध प्रमाणित भए कोहीकसैलाई जोगाउन नहुने विषयमा सार्वजनिक प्रतिवद्धता गरेका छन् ।

मदरसा गुल्सने मदिनाका संस्थापक अध्यक्ष विश्मिला मिया, व्यवस्थापन समितिका अध्यक्ष अजित मिया, सचिव पिआर मियालगायत सो क्षेत्रमा रहेका सबै पार्टी, सामाजिक संघसंस्थाका प्रपितनिधिले घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न र कुनै घटनाको विषयले जातीय सद्भाव खलबलिन नदिन आग्रह गरेका छन् ।

 
 
  
 

You may also like