लायन्स बुटवल मणि उजेशद्वारा दैलेखका ५० विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

by समतल अनलाइन

बुटवल। लायन्स क्लव अफ बुटवल मणि उजेशले दैलेखमा रहेको एक आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोषाक सहयोग गरेको छ । मणि उजेशले दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ कोल्टाकुरामा रहेको रामलक्ष्मण आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोषाक तथा शैक्षिक सामग्री सहयोग गरेको हो । मणि उजेशको हंगर कार्यक्रम अन्तरगत उक्त विद्यालयका १३० विद्यार्थी मध्य ५० जना अति विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री, झोला र पोषाक सहयोग गरेको क्लवका अध्यक्ष रितु गुरुङले जानकारी दिनुभयो ।

अति विपन्न परिवारका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग र हौसला मिलोस भनेर अभियन्ता मुकेश खतिवडामार्फत सहयोग गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । लायन्स क्लव अफ बुटवल मणि उजेशले आयोजना गरेको दशै, तिहार, छठ पर्वको शुभकामना आदान प्रदान तथा डिजी टिम भिजिट कार्यक्रममा उहाँले दैलेखका विपन्न विद्यार्थीलाई सहयोग गर्न पाउँदा साह्रै खुसी लागेको जानकारी दिनुभयो । ३५ हजार रुपैयाँ वरावरका शैक्षिक सामग्री खरिद गरि विद्यार्थीलाई वितरण गरिएको हो । कार्यक्रम सफल बनाउनका लागि समाजसेवी शेरबहादुर गुरुङ्गले २५ हजार रुपैयाँ सहयोग गर्नु भएको र बाँकी क्लवले बेहोर गरेको सचिव सीमा बस्याल पाण्डेले जानकारी दिनुभयो ।

दशै, तिहार, छठ पर्वको शुभकामना आदान प्रदान तथा डिजी टिम भिजिट कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पीका डिष्ट्रिक गर्भनर अर्जुनमान शैजु, भाइस डिष्ट्रिक गर्भनर पुरुषोत्तम प्रधानाङ, डिष्ट्रिक सेक्रेटरी विनोद खरेल, एसीआइएफ कोर्डिनेटर सन्दीप कसौधन, चार्टड प्रेसिडेन्ट सृष्टि गुरुङ, एरिया सेक्रेटरी शान्ता शर्मा, जोनचियर प्रशन प्रविना घिमिरे, पुर्व अध्यक्ष नेहा अग्रवाल, उपाध्यक्ष पुष्पा कण्डेल, सृजना श्रेष्ठ लगायतले नेपाल चाड पर्वले सबैमा आत्मियता र सद्भाव कायम गरेको भन्दै शुभकामना दिनु भएको थियो ।

 
 
  
 

You may also like