जापानलाई हराउँदै नेपाल एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा

by समतल अनलाइन

काठमाडौँ । जापानमाथि फराकिलो जित हात पार्दै नेपाली युवा टोली मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा जापानलाई १४३ रनले हराउँदै नेपाल अपराजित रहँदै उपाधि नजिक पुगेको हो । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको जापान ११.५ ओभरमा ४३ रनमा समेटियो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन जोडेको थियो । ओपनर दिपक बोहराले ७० बलमा ७९ रन जोडेर आउट भए भने क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल खेलिरहेका थिए ।

तर २५ ओभरपछि वर्षाका कारण खेल लामो समय रोकियो । त्यसपछि नेपालले ब्याटिङमा फर्कन पाएन । जापानलाई जितका लागि २२ ओभरमा १८७ रनको परिमार्जित लक्ष्य दिइयो । तर, नेपालको धारिलो ब्याटिङसामू जापानका ब्याट्सम्यानहरु टिक्न सकेनन् ।

फेरि एकपटक स्पिनर दिपेश कँडेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ३ ओभर बलिङ गर्दा १३ रन खर्चेर तीन विकेट लिए । हेमन्त धामीले पनि तीन ओभरमा ८ रन खर्चेर तीन विकेट लिएका थिए । नेपालले अब यूएईसँग फाइनल खेल्ने छ । नेपालको यू १९ टिम विश्वकपमा समेत छनोट भइसकेको छ ।

 
 
  
 

You may also like