मिस्टर एण्ड मिस टुरिजम नेपाल-२०१९ प्रतियोगिता हुने

यमुना चौधरी
बुटवल साउन २०। प्रदेश ५ मा रहेका पर्यटकीय सम्पदाकाे प्रचार प्रसारसंगै युवायुवतीमा रहेका विभिन्न प्रतिभालाई उजागर गर्न प्रदेश नम्बर ५ स्तरीय मिस्टर एण्ड मिस टुरिजम नेपाल-२०१९ प्रतियोगिता हुने भएको छ ।

प्रदेश ५ का विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै विश्वसामु परिचित गराउने उद्देश्यले आगामी भदौ १ गतेदेखि २१ गतेसम्म प्रदेश ५ का विभिन्न जिल्लामा प्रतिभा छनौटको कार्यक्रम राखिएको साेमबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक चम्पन सांस्कृतिक समूहले जानकारी गराएको छ ।

मिस्टर एण्ड मिस टुरिजम नेपालका संयोजक एवम् चम्पन सांस्कृतिक समूहका सचिव दोषहरण चौधरीले अडीसन भदौ १ गते बर्दिया , २ गते नेपालगंज बाँके , ३ गते घोराही , ५ गते प्युठान , ११ गते कपिलवस्तु , १२ गते पाल्पा , १४ गते बुटवल , १८ गते काठमाडौँ, २१ गते दाङ्गमा छुटेकाहरुलाई अडिसन दिने व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ।

 

 

उनले प्रतियोगिको व्यक्तित्व विकास र सौन्दर्यसँग जोडिएकाले प्रदेश ५ का पर्यटकीय सम्पदाको प्रचार प्रसारसँगै आफ्नो पहिचान स्थापित गर्न प्रतियोगिताले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । प्रतियोगितामा जुन सुकै समुदायका व्यक्तिहरु सहभागी हुन सक्ने भएपनि कक्षा १० उत्तीर्ण गरेको, १८ वर्ष पुराभई २८ वर्ष उमेर ननाघेको साथै ५ फिट २ इन्चभन्दा माथि उचाइ भएको हुनु पर्ने मापदण्ड निर्धारण गरिएको संयोजक चौधरीले बताए । प्रतियोगिताका लागि करीव ४० लाख लागत अनुमान गरिएको छ ।

प्रतियोगितामा २० जना पुरुष र २० जना महिला गरी ४० जनालाई छनौट भएका एक महिनासम्म व्यक्तित्व विकास, आत्मनिर्भरता, पब्लिक स्पिकिङ, कार्यक्रम संचालनको जानकारी, र्याम्पमा हिँड्ने, कोरियोग्राफी, सामाजिक शिविर, विशिष्ट व्यक्तित्वहरुबाट उत्प्रेरणाका लागि कक्षा, प्रदेश ५ का पर्यटकीय क्षेत्र र त्यसको महत्वका बारेमा अध्ययन अवलोकन लगायतका कक्षा संचालन गरिने पनि संयोजक चौधरीले बताए ।

 

प्रतियोगिता उत्कृट हुने पुरुष र महिलालाई जनही नगद १-१ लाखसहित विभिन्न पुरस्कारले सम्मान गरिने बताए । प्रतियोगिता आयोजना कि सचिव अञ्जु चौधरीले सहजीकरण गरेको कार्यक्रममा भुवन चौधरी, सन्तोष दहित, लक्ष्मीमान चौधरी, विकास चौधरी, नगेन्द्र चौधरी र प्रकाश चौधरीलगायतको उपस्थिति रहेको थियो ।

 
 
  
 

You may also like