तीन प्रदेशमा विहानैदेखि वर्षा, आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना ?

by समतल अनलाइन

काठमाडौँ । अहिले (मंगलबार बिहान) काठमाडौं उपत्यकासहित तीन प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । ‘बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा बिहान साढे ३ बजेदेखि वर्षा भइरहेको छ’, उनले भने, ‘राति उपत्यकाभर वर्षा भएको देखिए पनि अहिले भने कतै कतै मात्र पानी परिरहेको छ ।’

उनका अनुसार काठमाडौं उपत्यकामा पानी पर्ने क्रम अझै एक-दुई घण्टा जारी रहनेछ र त्यसपछि बिस्तारै कम हुँदै जानेछ । ‘तर फेरि दिउँसो वर्षा हुने सम्भावना छ’, मौसमविद् लामिछानेले भने, ‘भारी वर्षाको सम्भावना छैन, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। दिउँसोलाई भारी वर्षा सम्भावना भने महाशाखाले देखाएको छैन ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like