न्यू होराइजनद्वारा १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई सम्मान

by समतल अनलाइन

बुटवल । न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल बुटवलले कक्षा १२ उत्तिर्ण विद्यार्थीहरु,फ्याकल्टी संयोजक र सहसंयोजक तथा उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षकहरुलाई सम्मान गरेको छ । कार्यक्रममा कक्षा १२ को हालै सार्वजनिक नतिजामा ३.९६ जीपीए सहित सर्वोत्कृष्ट भएका समीप पौडेल सहित कक्षा १२ उत्तिर्ण सबै विद्यार्थी, फ्याकल्टी संयोजक र सहसंयोजक तथा विषय शिक्षकलाई सम्मान गरिएको हो । कक्षा १२ को यसपटकको नतिजामा ३.९६ जीपीए नै नेपालमै सर्वोत्कृष्ट भएको विद्यालयको दावी छ ।

सो अवसरमा राष्ट्रिय परीक्षा बोर्ड प्रादेशिक कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीले न्यू होराइजनले विगतदेखि नै उत्कृष्ट नतिजामा निरन्तरता दिएर गौरवमय इतिहास बनाएको बताए । उत्कृष्ट नतिजामा हरेक वर्ष निरन्तरता दिनसक्ने शैक्षिक संस्थाहरु देशमा निकै कम संख्यामा हुने र त्यसमध्ये होराइनन अग्रणी रहेको तिवारीले उल्लेख गर्दै उत्कृष्ट नतिजा आउनुमा विद्यार्थी र शिक्षकको मेहनत र अनुशासन, अभिभावकको सहयोग र निगरानी तथा विद्यालयको उत्कृष्ट शैक्षिक वातावरणको भूमिका हुने बताए ।

विद्यालय व्यवस्थापन समितिका रामेश्वर श्रेष्ठले न्यु होराइजनले नर्सरीदेखि मास्टर्स डिग्रीसम्मको गुणस्तरीय शिक्षा रुपन्देहीमै दिने उद्देश्यले विद्यालयदेखि कलेजसम्म सञ्चालन गरेकाले कक्षा १२ पछि उच्च शिक्षा अध्ययनका लागि पनि न्यु होराइजन अन्तर्गतका क्षितिज इन्टरनेशनल र बुटवल मोडेल कलेजमा विभिन्न विषयहरु पढाई हुने र शुल्कमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराए । विद्यार्थीहरुले नेपालमै भविष्य देख्नुपर्ने श्रेष्ठले आग्रह गरे ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विगतको एसएलसीदेखि हालको एसईई र कक्षा १२ (हालको एसएससी) सबै तहमा न्यु होराइजनले राष्ट्रमै उत्कृष्ट नतिजा ल्याउने गरेको स्मरण गरे । उनले परीक्षामा राम्रो नतिजा ल्याउन विद्यार्थीहरुले सिर्जनशील भाषा र राम्रो ह्याण्ड राइटिङ हुनुपर्नेमा जोड दिए ।
विद्यार्थी समीप पौडेलले विद्यालयको उत्कृष्ट शैक्षिक वातावरण र दक्ष शिक्षकहरुको कारण आफूले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले तीन घण्टाको परीक्षामा जीपीए कम आउंदैमा निराश हुन नहुने सुझाव दिंदै मेहनत गर्ने विद्यार्थीले कम जीपीए ल्याए पनि जीवनमा सफलता हात पार्ने स्पष्ट पारे ।
कार्यक्रममा व्यवस्थापन संकाय संयोजक प्रकाश खनाल र सहसंयोजक रमेश रेग्मी,विज्ञान संकाय संयोजक प्रकाश पन्त र सहसंयोजक मनोज सिलवाल तथा फिजिक्स, अकाउन्ट र फाइनान्स विषयका शिक्षकहरुलाई सम्मान गरिएको विद्यालयका उपप्राचार्य बासुदेव अर्यालले जानकारी दिए । न्यु होराइजनबाट कक्षा १२ मा विज्ञान र व्यवस्थापन संकायबाट करिब ४ सयजनाले परीक्षा दिएका उपप्राचार्य राजीव श्रेष्ठले बताए ।

 
 
  
 

You may also like