सिरहा। सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाडीस्थित नेपाल भारत सीमा क्षेत्रको नेपालपट्टिको दसगजा क्षेत्रमा भारतीय पक्षले भन्सार चेकपोष्ट सञ्चालन गरिरहेको छ ।
४१ वर्षदेखि ठाडीसँगको सीमाबिन्दुबाट करिब सात सय मिटर दक्षिण लौकहाको एसबिआई बैंकनजिक रहेको भारतीय भन्सार चेकपोष्ट दसगजा क्षेत्रमा सञ्चालन भइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।
स्थानीय श्रीलाल पासवानका अनुसार नेपालपट्टि दसगजा क्षेत्रमा पाँच भारतीय नागरिकले मासु तथा साइकल मर्मत पसल सञ्चालन गरिरहेका छन् ।
भारतीय पक्षले बनाउन लागेको स्वागतद्वार स्थानीयले रोके
भारतीय पक्षले बोर्ड झुण्ड्याएरै दसगजामा भन्सार चेकपोष्ट र अर्धसैनिक बल एसएसबीको चेकपोस्ट सञ्चालन गर्दै आएको छ । नेपाल भारतको सीमाबिन्दुमा पर्ने जङ्गे खम्बादेखि १० गज उत्तर र १० गज दक्षिणतर्फको जमिन दसगजाको खाली रहनुपर्ने हो । तर, भारतीय पक्षले आफ्नोतर्फ सबै मिचेको छ भने नेपालतर्फको दसगजा समेत ओगटेको छ ।
‘भारतीय पक्षले खाली राख्नुपर्ने दसगजासमेत छोडेको छैन । ठाढीका स्थानीयले बनाएको कल्भर्टदेखि करिब ५० मिटर दक्षिणतर्फ भारतीय पक्षद्वारा निर्मित भारत नेपालमैत्री द्वारसम्म दसगजा क्षेत्र पर्छ,’ ठाढीका ६० वर्षीय रामआशीष पासवान भन्छन्, ‘करिब चार दशकअघिसम्म खाली रहेको दसगजा भारतीय पक्षले मिच्दै मिच्दै नेपालको बिन्दुसम्म आइपुगेको छ ।’
नेपालतर्फ दसागजा क्षेत्रमै गत फागुनको पहिलो साता भारतीय पक्षले जबरजस्ती स्वागतद्वार बनाउन जेसिभी प्रयोग गरी निर्माण कार्य थालेपछि ठाडीका बासिन्दाले रोकेका थिए । एसएसबीको संरक्षणमा स्वागतद्वार बनाउन खोजिएपछि ठाढीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका तत्कालीन इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक कैलाश कटुवालले स्थानीय बासिन्दालाई भेला गराई दबाब दिएपछि निर्माण रोकिएको स्थानीय ५५ वर्षीय रामचन्द्र साहले बताए ।
सर्वेक्षण टोलीद्वारा अनुगमन
भारतीय पक्षको जबरजस्ती रोक्न स्थानीय बासिन्दाले तत्काल जिल्ला र केन्द्रलाई गुहारेपछि ठाडीमा नापी तथा भूउपयोग व्यवस्थापन महाशाखाअन्तर्गत नेपाल भारत सीमा सर्वेक्षण टोली नं. २ धनुषा, जनकपुरबाट आएको टोलीले स्थलगत अनुगमन गरेको थियो ।
सिराहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले टोलीले ठाडीको विवादित सीमा क्षेत्रको वस्तुगत अवस्था अनुगमनपछि १० फागुन ०७५ मा लिखित प्रतिवेदन दिएको बताए ।
‘भारतीय पक्षबाट नेपाल भारत सीमा क्षेत्रको दसगजा क्षेत्रमा बनाउन लागेको स्वागतद्वार नेपालको दसगजा क्षेत्रमा पर्ने व्यहोराको लिखित प्रतिवेदन दिएपछि १७ फागुनमा गृहमन्त्रालयलाई लिखित जानकारी गराइयो,’ प्रजिअ अधिकारीले भने ।
उनका अनुसार नेपाल र भारत सीमाक्षेत्रमा रहेका सीमा स्तम्भको नियमित रेखदेख, अनुगमन र भारतीय समकक्षीसँग कुरा राख्नेबाहेक विवादित क्षेत्र र समाधानको विषयमा माथिल्लो तहबाट नै निर्णय गरिनुपर्ने भएकाले जिल्ला तहबाट प्रतिवेदनसहित लेखी पठाइएको छ । सिराहाको सीमा भारतको बिहान राज्यको मधुवनी जिल्लासँग पूर्व बलान र पश्चिम कमला नदीसम्म ४८ किलोमिटर खण्डसँग जोडिएको छ ।
सिराहा प्रशासनको तथ्यांकअनुसार सिराहामा मुख्य २७, सहायक १९ र सानो तीन सय ४२ गरी तीन सय ८८ वटा सीमा स्तम्भ छन्, जसमा मुख्य सात, सहायक दुई र सानो ३१ गरी ४० वटा मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । प्रजिअ अधिकारीले भारतसँगको सीमाक्षेत्रमा गाडिएका सीमा स्तम्भमध्ये दुईवटा पछिल्लो वर्षामा ढलेको बाहेक अन्य पूर्ववत् अवस्थामा रहेको बताए ।
नेपालतर्फको दसगजा मासेर भारतीयद्वारा उपभोग
सिराहा नगरपालिका–२० लगडी गदियानी भारतसँग सीमा जोडिएको नेपालको सीमावर्ती गाउँ हो । लगडीगदियानी गाउँको पारिपट्टि पर्ने भारत बिहारको लगडी पदमा गाउँका भारतीय नागरिकको घरआँगनमै जङ्गे खम्बा ठडिएको छ भने नेपालतर्फको दसगजा क्षेत्र बस्तुभाउ बाँध्ने थलो बनाइएको छ ।
लगडी पदमा गाउँ पुग्दा आइतबार दिउँसो स्थानीय ज्ञानी मुखियाको आँगनमै ठडिएको जङ्गे खम्बानजिकै कपडा सुकाइएको थियो भने दसगजामा उनले घरमा पालेका बस्तुभाउ बाँधेका थिए । मुखियाको मूलघर मुख्य खम्बादेखि मुस्किलले पाँच फिट दक्षिण भारतपट्टि छ भने बस्तुभाउको थलो नेपालतिरको दसगजामै छ ।
करिब २५ वर्ष अघिसम्म भारततिरको दसगजा भारतीयहरूले मासे पनि नेपालतर्फको दसगजा खाली नै रहेको स्थानीय देवनारायण यादव बताउँछन् । ‘लगडीगदियानी गाउँका केही नेपालीको पनि जमिन पारिपट्टि रहेकाले बिस्तारै भारतीयहरूले नेपालतर्फको दसगजा समेत मिचेर उपभोग गरिरहेका छन्,’ यादवले भने ।
उनका अनुसार मासिएको नेपालतर्फको दसगजा क्षेत्रमा भारतीयहरूले नाकामा पसल टहरा चलाएका छन् भने भित्रतिर खेतबारी बनाएका छन् । ‘त्यसरी खेतीपाती गर्नेमा केही नेपाली पनि छन्,’ उनले भने, ‘सीमावर्ती गाउँ भएकाले कसैले बोल्दैनन् ।’
भारतीय लगडी गाउँका कपिलदेव यादवले गत जेठमा दुवै मुलुकका सीमा प्राविधिकहरूको टोलीले गाउँ क्षेत्रमा सीमास्तम्भ गाडेको भए पनि मासिएको दसगजा क्षेत्रको विषयमा कसैले केही नबोलेको बताए । नयाँ पत्रिकाबाट
FacebookTwitterPinterestLinkedInMessengerWhatsAppWeChatViberMore
प्रतिक्रिया दिनुहोस्