आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं ६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने भएको छ । स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि वडा नंं ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकिएको छ । स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गर्न रुपन्देही २ का प्रतिनिधि सभा सदस्य एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले समेत प्रतिवद्धता जनाएका छन् ।

पौडेलले बिहीबार स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरी अस्पताल बनाउन आफूले सरकार र सम्बन्धित मन्त्रालयमा पहल गर्ने भन्दै ढुक्क बन्न आग्रह गरे । ‘आनन्दवन स्वास्थ्य चौकी अब १५ शैयाको अस्पताल बन्छ,तपाईहरु ढुक्क हुनुस्’–पौडेलले भने–‘यसका लागि मैले सरकार र मन्त्रालयमा कुरा पु¥याउंछु ।’ सांसद पौडेलले खोलामुनि चट्टान परेकाले रोकिएको गोरकट्टा–मोतिपुर पुल अब शुरु हुने र तिनाउ दानव कोरिडोर सडक पनि बन्ने क्रममा रहेकाले अब तिलोत्तमाको वडा नंं ६ मा विकासले फड्को मार्ने बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बर्थिङ सेन्टर समेत रहेको स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने र वडा नं. १० मा रहेको सेमराबजार स्वास्थ्य चौकीलाई पनि १५ शैंयाको अस्पतालको रुपमा स्तरोन्नती गर्ने योजना अघि बढाइएको बताए ।

उनले हरेक वडामा कम्तिमा एउटा स्वास्थ्य संस्था पु¥याउने नगरपालिकाको नीति रहेको बताए । स्वास्थ्य चौकीको १० कठ््ठा जग्गा रहेकाले अस्पतालमा स्तरोन्नतिका लागि पहल गरिएको चौकीका प्रमुख ज्ञानप्रसाद पौड्यालले बताए । चौकीलाई जग्गा दान गरेका डा. सरोज वझाले अस्पताल बनाउन थप जग्गा आवश्यक परे दिन तयार रहेको पौडेलले जानकारी दिए । हाल दैनिक ५० जना भन्दा बढी विरामीले सेवा लिने गरेका र महिनामा सरदर २० जनाले प्रसुति सेवा समेत लिने गरेका छन् । यो स्वास्थ्य चौकी तिलोत्तमा वडा नं ५, ६ र १३ का जनताका लागि पायक पर्ने ठाउमा छ । स्वास्थ्य चौकीको केही दिन अघि स्वास्थ्य विभागका महानिर्देशक डा. रोशन पोखरेलले समेत स्थलगत निरीक्षण गरेका थिए । सरकारले हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने नीति अघि सारेको छ । अस्पताल बनाउन १५ करोड रुपैयां बजेट लाग्ने स्वास्थ्य चौकीका प्रमुख पौडेलले बताए ।

 
 
  
 

You may also like