चौतर्फ आलोचनापछि पल शाहले भने, ‘देश छाडौं कि रत्नपार्क गएर आत्मदाह गरौं ?

काठमाडौं । अभिनेता पल शाहले आफूले कसैको पनि अवहेलना गर्ने कुरा सोच्न पनि नसक्ने बताएका छन् ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हाँस्य कलाकार एवम् प्रस्तोता सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट् द फ्लप’ कार्यक्रममा बोलेका कुरालाई लिएर चौतर्फी आलोचना भएपछि पलले सामाजिक सञ्जालमार्फत आफूले कसैको पनि अवहेलना गर्ने सोच्न पनि नसक्ने बताएका हुन् ।

उनले कार्यक्रममा कसैको नाम नलिइ कारागारभित्र रहँदा भोगेका, देखेका कुराहरू हाँसेर बोल्दै सुनाउँदा विरोध भएकामा उनले दुखेसो पोखेका हुन् । उनले आरोप लागेपछि कानूनलाई सघाएको र एक वर्षको सजाय काटेपछि सफाई पाएर निस्किएपछि पनि बलात्कारी भन्दै हाँसी हाँसी बोल्यो भन्दै विरोध गरेकामा उनले दुःख व्यक्त गरेका हुन् ।

उनले अदालतबाट सफाई पाइसकेपछि पनि मैले निधारमा ‘म बलात्कारी हुँ लेखेर हिँडौ कि दुःख, पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ ? भन्दै प्रश्न समेत गरेका छन् । सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ? कि मैले खुलमखुला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?’

उनले निराशा व्यक्त गर्दै अगाडि लेखेका छन्, ‘कानुनले तँ सही छस् भनेर ‘सफाइ’ दिएको विषय जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदोरहेछ…।’
हेर्नुस् पल शाहको पूरा स्टाटस–

मानवीय जीवन हो– उतारचढाव हुन्छ । म नि मानव हो । मभित्र पनि मानवीय संवेदना छ । म रुन्छु, हाँस्छु । तपाईंहरू जस्तै…
ममाथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगेँ र १ वर्ष कारागारमा रहेँ। सम्मानित अदालतबाट उक्त आरोपबाट ‘सफाइ’ पाएर म तपाईंहरू जस्तै सामान्य जीवनयापन र कर्म गर्दै आइरहेको छु ।

मलाई थाहा छ, बुझेको पनि छु– म एक सार्वजनिक व्यक्ति हुँ। मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ । म साना–साना कुरामा संवेदनशील हुनुपर्दछ र मेरो सेन्स अफ ह्युमरले सक्ने जति म संवेदनशील बन्ने कोसिसमा छु । पछिल्लो समय कान्तिपुर टीभीबाट प्रसारित “What The Flop Show” मा मैले अन्तरवार्ता दिएको थिएँ । उक्त अन्तर्वार्ता प्रसारण भइसकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भइरहेको छ । प्रसारित कार्यक्रममा ‘हाँसीहाँसी बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो’ जस्ता आरोप लागेका छन् ।

म एक्लै यो धर्तीमा कहीँबाट उत्पत्ति भएको हैन । मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन्। उनीहरूमा के बित्छ होला, जहिल्यै बलात्कारीको ट्याग दिँदा? कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा ? उनीहरूलाई मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला, कस्तो दाग रहला ? कहिल्यै त्यो ठाउँमा आफ्नो परिवार राखेर सोच्नु भएको छ ?

म स्पष्ट पार्न चाहन्छु । मेरो तर्फबाट मृत या जीवित, आरोपित होस् या अपराधी सबैप्रति मेरो सम्मान छ । म मेरो देशको कानुनलाई शिरोपर गरी कानुनलाई सघाएको मानिसले कानुन उल्लंघन या कसैको अवहेलना गर्नेबारे सोच्न सम्म सक्दिनँ ।

मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिएँ । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नुपर्ने हो र? मैले कसैको नाम नलिईकन त्यहाँभित्र मैले भोगेका-देखेका कुरा हाँसेरै सरकारसामु अपिल गर्दा पनि मैले गाली खानुपर्ने हो ? म मेरा दुःखका अनुभव हाँसेर कसैसँग सेयर गर्नै नपाउने हो ? मैले कसलाई मजाकको पात्र बनाएको छु ? म रुँदै अन्तर्वार्ता दिनुपर्ने हो? म मेरो दुःखमा सधैँ रुनुपर्ने हो या मैले मेरा दुःखका अनुभव हाँसीहाँसी साट्न र जित्न पनि पाउँछु? धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्नसकेको छैन, मेरो जीवनमा मैले गर्नुपर्ने के हो नगर्नु पर्ने के हो? समाजका तपाईंहरु जान्ने बुझ्नेले मलाई उत्तर दिनुहोला !!!

अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि मैले निधारमा म बलात्कारी हुूँ लेखेर हिडौँ कि दुःख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँ? मलाई पल शाह बनाएको तपाईंहरूले हो यसकारण म प्रश्न पनि तपाईंहरू समक्ष नै गर्न चाहन्छु म के गरौं ? कसरी बाँचौं ? कसरी हिडौं ? कसरी बोलौं ? कसरी खाऊँ ? कसरी लाऊ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौं ? कि मैले खुलमखुला रत्नपार्कमा गएर आत्मदाह गरौं ?

एक वर्षे कारागार बसाइमा मैले पाएका दुःखलाई आँशुले छिपिक्क भिजाएको छु । पीडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दुःखलाई खुसी मुद्रामा साट्दा तपाईंहरूमा परेको असरप्रति क्षमा चाहन्छु । कानुनले तँ सही छस् भनेर ‘सफाइ’ दिएको विषय जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदोरहेछ…सबैमा माया सम्मान र धन्यवाद ।

 
 
  
 

You may also like