बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर : ६४ हजार पशु संक्रमित, नौं हजारको मृत्यु

बैतडी । बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रण बाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ ।

यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा. विशाल पाठकले जानकारी दिए । यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७ घरपालुवा पशु संक्रमित छन् । उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उनले बताए । लम्पी स्किनका कारण बाच्छाबाच्छी, गाईगोरु र भैँसी बढी प्रभावित भएका छन् । उनले भने, ‘लम्पी स्किनको संक्रमण दिन प्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन । प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौँ ।’

लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए । उनले भने, ‘जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ । लेकाली चिसो हुने गाउँमा कम छ । अन्य गाउँमा महामारीकै रूपमा फैलिएको छ ।’

नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको उनको भनाइ छ । लम्पी स्किनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ । उनले भने, ‘सामान्य औषधोपचार बाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्तिबाट मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन । अहिले संक्रमित देखिएका पशु मर्ने क्रम झन् बढ्ने देखिन्छ ।’

यो रोग नियन्त्रणका लागि सरकारी बाहेकका अन्य दक्ष जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्तको जोड छ । उनले भने, ‘रोग नियन्त्रणका लागि सरकारी जनशक्तिले पुग्दैन्, अन्य जनशक्ति पनि परिचालन गर्नुपर्छ । साथसाथै खोपको पनि व्यवस्था हुनुपर्ने देखिन्छ ।’ बैतडीमा गत मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखापरेको र परीक्षण गर्दा गत फागुनमा यो रोग प्रमाणित भएको थियो । पशुचौपायामा ज्वरो आउने, सिङ्गान तथा र्‍याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिने गरेका छन् ।

यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ । रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने जनाइएको छ ।

 
 
  
 

You may also like