भारतको संसद अगाडि गएको छैन, नक्साबारे कुरा उठाएको छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको संसदमा राखिएको विवादित नक्साको विषयमा भारत भ्रमणको क्रममा छलफल भएको स्पष्ट पारेका छन् । तर उनले त्यसबारे के छलफल भएको भन्ने विषयमा विस्तृत जानकारी गराएनन् ।

प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतको नयाँ संसद् भवनमा नगएको र त्यहाँ गएको भनेर भ्रम फैलाइएको बताए । ‘भारतीय नयाँ संसद्को नक्साको कुरा आयो । म त्यो नयाँ संसद् अगाडि गएकै छैन । मोदी र म गएकै छैनौं । टिभीमा देखेको हो, नेपालमा नै देखेको हो,’ उनले भने, ‘म गएको भन्ने शतप्रतिशत झुटो हो ।’

त्यो नक्साबारे भारतीय अधिकारीहरूसँग छलफल भएको पनि प्रधानमन्त्रीको भनाइ थियो । ‘नक्साको बारेमा भारतमा कुरा गरेको हो । उहाँहरूको आफ्नै तर्क थियो, यो सांस्कृतिक हो भन्ने थियो,’ उनले भने ।

राजनीतिक विवादमा समझदारी बनाएर अगाडि जानुपर्ने विषयमा समझदारी भएको प्रधानमन्त्री दाहालको भनाइ थियो । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि भारतीय संसद्मा नेपालका केही भूभागको नामसहितको नक्सा सार्वजनिक भएको थियो । उक्त नक्सालाई लिएर नेपालमा आलोचना पनि भएको थियो ।

 
 
  
 

You may also like