नेपाल प्रेस युनियनकाे स्थापना दिवसमा रक्तदान : ५१ युनिट रगत संकलन

बुटवल । नेपाल प्रेस युनियनकाे ३२ औं स्थापना दिवसकाे अवसरमा शनिबार बुटवलमा रक्तदान गरिएकाे छ । नेपाल प्रेस युनियन रुपन्देहीकाे आयाेजनामा रक्त सञ्चार सेवा केन्द्र बुटवलमा भएकाे कार्यक्रममा ५१ जनाले रक्तदान गरेकाे युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी गराउनु भयाे ।

त्यसमध्ये १५ जना पहिलाे पटक रक्तदान गर्ने नयाँ रक्तदाता हुन् । रक्तदान कार्यक्रमकाे उद्घाटन गर्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले मानवकाे जीवन रक्षासंग जाेडिएकाे रक्तदान कार्यक्रम राखेर राम्राे कामकाे सञ्चार गरेकाे बताउनु भयाे । उहाँँले लाेकतन्त्रकाे स्थापनामा पत्रकारहरुकाे ठूलाे भूमिका रहेकाे बताउँदै यसकाे रक्षा तथा संस्थागत विकासमा पनि याेगदान गर्न आग्रह गर्नु भयाे ।

त्यस अवसरमा अध्यक्ष नेपालले श्रमजीवि पत्रकारहरुकाे पक्षमा भूमिका खेल्न र साेही अनुसारकाे कानुन बनाउन नेपाली काँग्रेस, राजनीतिक दलहरु र सरकारकाे ध्यानाकर्षण गराउनु भयाे ।

रगतकाे अभावमा कसैले पनि ज्यान गुमाउनु नपराेस् भन्ने उदेश्यले रगतकाे उपलब्धता र रक्तदान संस्कारकाे विकासकाे लागि रक्तदान कार्यक्रम आयाेजना गरिएकाे कार्यक्रम संयाेजक तथा युनियन रुपन्देहीकी कार्यसमिति सदस्य कल्पना शर्माले बताउनु भयाे ।

प्रजातन्त्र पुःनस्थापनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न पाउने अधिकार प्रत्याभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हित र अधिकार प्राप्तिका लागि लाेकतन्त्रवादी पत्रकारहरुकाे सक्रियतामा २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनकाे स्थापना गरिएकाे थियाे ।

हाल मुलुकभर ७ हजार ४ सय भन्दा वढी पत्रकार प्रेस युनियनमा आवद्ध छन् । त्यस्तै रुपन्देहीमा विभिन्न सञ्चार गृहमा कार्यरत २ सय बढी पत्रकार तथा सञ्चारकर्मी प्रेस युनियनमा आवद्ध रहेकाे युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी गराउनु भयाे । युनियनकाे स्थापना दिवसकाे अवसरमा हिजाे, आज र भाेली केन्द्रीय समिति तथा देशभरका शाखाहरुमा विभिन्न कार्यक्रम गरि मनाईदैं छ ।

 
 
  
 

You may also like