सत्यवतीका पहिरो पीडितलाई चन्द्रकोटद्धारा ६ लाख ३० हजार आर्थिक सहयोग

१९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाका बाढी पहिरो पीडितहरूलाई छिमेकी गाउँपालिका चन्द्रकोटले झन्डै साढे ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

चन्द्रकोट गाउँपालिका र त्यस मातहतका सबै सङ्घ-संस्था र क्लबहरुबाट सङ्कलन भएको ६ लाख ३० हजार ७ सय ५५ रुपैयाँ शनिबार एक समारोहकाबीच सत्यवती गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

छिमेकीहरूलाई चोट लाग्दा आफूहरूलाई पनि दुखाई हुने भन्दै चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले बताए । सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकाललाई उक्त रकम हस्तान्तरण गर्दै बाढी पहिरो पीडितहरूलाई मलमका रूपमा लिएर सहगोग उपलब्ध गराई दिन आग्रह समेत गरे ।

गाउँपालिका प्रमुख ढकलले विपद्मा सहयोग गरेको प्रति चन्द्रकोट गाउँपालिका र त्यहाँका सबै सङ्घ संस्थाहरू प्रति आभार प्रकट गरे ।

चन्द्रकोट गाउँपालिका प्रमुख खत्रीका अनुसार चन्द्रकोट भित्रका शैक्षिक सङ्घ संस्थाहरू , गुल्मी उद्योग वाणिज्य सङ्घ शान्तिपुर शाखा, वन उपभोक्ता समिति , सहकारी संस्थाहरू , विभिन्न क्लब, आमा समूह वित्तीय सङ्घ संस्था सबैको पहलमा उक्त रकम सत्यवती गाउँपालिकालाई सहयोग गर्न सकिएको हो ।

 
 
  
 

You may also like