नेपालको थाप्लोमा ११ खर्ब ऋण, ६ महिनामा तिर्‍यो साढे ६ अर्ब

by समतल अनलाइन

काठमाडौं । नेपालले आर्थिक रुपमा फड्को मारिरहेको बताइए पनि नेपाल सरकारको थाप्लोमा झण्डै ११ खर्ब रुपैयाँ सार्वजनिक ऋणको बोझ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामै सरकारले २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको थियो । तर, यसै अवधिमा ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँ ऋण नेपालले चुक्ता गरेको छ ।

कतिपय द्विपक्षीय तथा बहुपक्षीय दाताको साँवा समेत भुक्तानी दिइएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । कुल तिरेको ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँमध्ये ४ अर्ब १३ करोड ८० लाख रुपैयाँ ब्याजको भुक्तानी र २ अर्ब १८ करोड ३२ लाख रुपैयाँ सावाँ रकम रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

सरकारले तीन महिनाको अवधिमै आन्तरिक ऋणको ब्याज भुक्तानीका लागि ३ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ । आन्तरिक ऋणको साँवा भने यस अवधिमा तिरेको छैन ।
तर, वैदेशिक ऋणतर्फ भने सरकारले २ अर्ब १८ करोड ३२ लाख रुपैयाँ साँवा भुक्तानी गरेको छ । ५४ करोड ३४ लाख रुपैयाँ भने ब्याज भुक्तानी गरेको महालेखाको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा ठूलो ऋणको बोझ एशियाली विकास बैंकको
सरकारले तीन महिनाको अवधिमा तिरेको बैदेशिक ऋणको ठूलो हिस्सा एशियाली विकास बैंकको रहेको छ । सरकारले बैंकको एक अर्ब २३ करोड १७ लाख रुपैयाँ साँवा भुक्तानी गरेको छ ।

विश्व बैंक समूहको इन्टरनेसनल डेभलपमेन्ट एशोसिएन (आईडीए) लाई ७२ करोड ३७ लाख ८१ हजार रुपैयाँ साँवा भुक्तानी दिइएको छ । यस्तै, संयुक्त राष्ट्रसंघ मातहतको कृषि विकासका लागि अन्तर्रा्ष्ट्रिय कोष (आईएफएडी)को ९२ लाख ९८ हजार ७ सय २३ रुपैयाँ भुक्तानी गरिएको छ ।

पेट्रोलियम पदार्थ उत्पादन गर्ने मुलुकहरुको संगठन अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओएफआईडी) को ५ करोड ९३ लाख ८६ हजार रुपैयाँ साँवा भुक्तानी भएको छ ।

देशतर्फ भने जापानको १४ करोड १७ लाख र फ्रान्सको १ करोड ७२ लाख रुपैयाँ साँवा भुक्तानी दिइएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like