आफ्नो एक इञ्च जमिन छोड्दैनौं, छिमेकीको चाहिँदैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालले अपनाउँदै आएको परराष्ट्र नीतिलाई आफू नेतृत्वको सरकारले पनि निरन्तरता दिएको बताएका छन् । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमाले सांसद रघुजी पन्त र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले गरेका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा एजेन्डामा पर्छ कि पर्दैन भन्ने प्रश्न सांसद पन्त र बडूले गरेका थिए । ‘हाम्रो एक इञ्च जमिन पनि छोड्न सक्दैनौं, हामीलाई छिमेकीको एक इञ्च जमिन चाहिँदैन । यो नीति अन्तर्गत हामी नेपालका सबै राजनीतिक दलहरू र यो सम्मानित सदन सबै हामी एकमत नै छौं । त्यै मान्यताभित्र रहेर नै भारत सरकारसँग कुराकानी हुन्छ ।’

उनले थपे, ‘नेपाल आफ्नो एक इञ्च भूमि पनि अन्य राष्ट्रलाई नदिने र अरु राष्ट्रको नलिने सिद्धान्तमा अडिग छ । यसै सिद्धान्तमा रहेर छिमेकीसँग सम्बन्ध कायम गर्न नेपाल प्रयत्नशील रहेको छ । मेरो निकट भविष्यमा हुने भारत भ्रमण पनि नेपालको बृहत्तर हित अभिवृद्धि गर्ने कार्यमा केन्द्रित रहने विश्वास म व्यक्त गर्न चाहन्छु ।’

नेपाल–भारतबीचका विभिन्न विवादका सम्बन्धमा दुई देशबीच गठन भएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्ने विषयमा पनि विषय राखिने प्रधानमन्त्रीले बताए । भारतले बुझ्ने कि नबुझ्ने भन्ने कुरा भ्रमणमा गएपछि नै थाहा हुने उनले बताए ।

 
 
  
 

You may also like