रुपन्देही कार्की भारत्तोलनमा दोस्रो पटक विश्व च्याम्पियन

by समतल अनलाइन

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारीका रुप कार्की अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल हुनुभएको छ । आयरल्याण्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित माष्टर–२ प्रतियोगितामा कार्कीले विश्वभरका दुई सय बढी देशका करिब सात सय जना प्रतिस्पर्धीमध्ये २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जित्न सफल हुनुभएको हो ।
अमेरिकामा प्रि क्वालिफाइड भएपछि माष्टर–२ का लागि आयरल्यान्ड जानुभएका कार्कीले अन्तर्राष्ट्रिय भारत्तोलन खेलमा अन्तर्राष्ट्रिय च्याम्पियन बन्दै स्वर्ण पदक हात पार्नुभएको हो । आयरल्याण्डमा उहांको जित माष्टर–२ आइपियलको अन्तर्राष्ट्रिय च्याम्पियनको रेकर्ड हो ।
अमेरिकाको भजिर्नियामा परिवारसहित बस्दै आउनुभएका कार्कीले आफ्नो तौल समुहमा विश्व च्याम्यिपयन बन्दै रेकर्ड कायम गर्नुभएको हो । कार्कीले यसअघि सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको फस्र्ट मास्टर इन्टरनेसनल पावरलिफ्टिङ प्रतियोगितामा पनि विश्व च्याम्पियन बन्दै स्वर्ण पदक जित्नुभएको थियो ।
विश्व च्याम्पियन कार्कीका अनुसार नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उहां पहिलो नेपाली खेलाडी हो । उहां अमेरिकास्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्ण पदक जित्दै च्याम्पियन बन्नुभएको छ ।

यस्तो खेलमा प्रतिष्प्रधा गर्ने प्राय सबै खेलाडीले शक्ति वद्र्धक औषधी प्रयोग गरेको पाईन्छ । तर कार्कीले औषधीको प्रयोग (ड्रग टेस्टेड) विना नै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर विश्वच्याम्पियन बन्न सफल हुनुभएको हो ।

कृत्रिम रुपमा शारीरिक बल अभिवृद्धि गर्नका लागि प्राय खेलाडीहरुले यस्तो औषधी सेवन गर्ने गरेको पाइन्छ ।
सन् २००९ देखि भारत्तोलनको अभ्यास शुरु गर्नुभएका कार्की सन् २०१२ देखि पुर्णरुपमा भारत्तोलन खेलमा सक्रिय हुनुहुन्छ । कार्कीले अमेरिकाबाट नेपाल फर्के पछि बांकी जीवन भारत्तोलन खेलमा बिताउने बताउनुभयो । बागलुङ जिल्लाको गल्कोटमा जन्मिनुभएका कार्कीको परिवार रुपन्देहीको तिलोत्तमा –६ भलवारीमा बसाई सरेर आएको हो ।

भारत्तोलन खेलकै लागि दैनिक ३ देखि ५ घण्टा सम्म नियमित ब्यायाम गर्ने कार्कीले भन्नुभयो–“म मेरो लागि नभएर नेपाल र नेपालीको पहिचानका लागि खेलिरहेको छु । खेलको माध्यमबाट नेपाललाई चिनाउन पाएकोमा निकै गर्व लागेको छ ।”
कार्कीको यो अभियानमा कार्कीकी जीवन संगिनी शोभा सुबेदी र छोरा रुपेशले साथ र हौसला दिदै आएका छन् ।

 
 
  
 

You may also like