देशका धेरै स्थानमा बर्षाको सम्भावना

काठमाडौं । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावका कारण कर्णाली प्रदेशका एक–दुई स्थानमा आज (बिहीबार) बिहान हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर सामान्य बदली रहेको छ ।

आज (बिहीबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको विभागको भनाइ छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोसी प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंका केही ठाउँमा बिहानैबाट वर्षा सुरु भएको छ । ‘काठमाडौंका केही स्थानमा बिहानैबाट वर्षा सुरु भएको छ । आज दिउँसो पनि काठमाडौंमा वर्षा हुनेछ । दिनभर वर्षा नभए पनि पानी पर्ने र रोकिने क्रम चलिरहने छ’, मौसमविद् रोजन लामिछाने भने । अपराह्नपछि भने मौसम खुल्ने उनले जानकारी दिए ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

भोलिबाट भने मौसम केही खुल्दै जाने मौसमविद् लामिछानेले जानकारी दिए । ‘तुलानात्मक रूपमा भोलिबाट मौसम केही खुल्दै जाने देखिन्छ । तर, अपराह्नपछि भने पहाडी भेगमा वर्षा हुने सम्भावना छँदैछ’, उनले भने, ‘बिहान र दिउँसो भने भोलिबाट वर्षा हुने सम्भावना कम छ ।’

 
 
  
 

You may also like