भारतबाट घटेर आयो डिजेल र पेट्रोलको भाउ, निगमले घटाउला मूल्य ?

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ लिटरमा चार रुपैयाँभन्दा बढी घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले मूल्य घटेर आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै आइओसीले निगमलाई पठाउने मूल्य घटेर आएको हो ।
यसअघि आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य बढेर आएको थियो । उक्त समय पेट्रोल लिटरमा ६ रुपैयाँ र डिजल लिटरमा डेढ रुपैयाँ बढेर आएको थियो । यसरी मूल्य बढेर आउँदा समेत निगमलाई गएको १५ दिनमा ६० करोड बढी धेरै नाफा रहेको निगमले जनाएको छ ।

तर पछि विश्व बजारमा तेलको माग कम हुँदा कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य प्रति ब्यारल ७५ डलरमा कारोबार भइरहेको छ । त्यसैले नयाँ मूल्यसूची अनुसार तेलको मूल्य घटेर आएको निगमले जनाएको छ। निगमलाई यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १० रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ नाफा रहने स्रोतले जानकारी दिएको छ । मूल्य घटबढ नभएमा आगामी १५ दिनमा निगमलाई लगभग डेढ अर्ब रुपैयाँ नाफा हुनेछ ।

पछिल्लो समय प्रधानमन्त्रीको निर्देशनमा निगमले डिजल र मट्टितेलमा प्रति लिटरमा १० रुपैयाँले मूल्य घटाएको थियो भने पेट्रोल लिटरमा ३ रुपैयाँ घटाएको थियो । त्यसपछि निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यका साथै आइओसीले समेत मूल्य बढाएर पठाएपछि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको थियो ।

 
 
  
 

You may also like