नेपाल र युएईको खेल हेर्न भोलि टिकट नचाहिने

काठमाडौं । एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार भोलि हुने खेल आजकै निरन्तरता हुनेछ । अर्थात् आज रोकिएकै ओभरबाट भोलि विहान ९ बजेदेखि खेल सुरु हुनेछ ।

आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव ३ ओभरमा ९ विकेटका क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षा भएपछि खेल हुन सकेन र भोलिसम्मका लागि स्थगित भएको हो ।
खेल रोकिनुअघि युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाएका थिए । उनले ५४ बल खेल्दै एक छकका र सात चौका प्रहार गरे । त्यस्तै आर्यन लाक्राले १३, मोहम्मद वासिमले ११ र बसिर हमिदले १० बनाए ।

नेपालका लागि ललित राजबंशीले तीन विकेट लिएका थिए भने करण केसी र सन्दीप लामिछानेले दुई ÷दुई विकेट लिए । त्यस्तै गुल्शन झा र सोमपाल कामीका नाममा एक -एक विकेट रहयो । यसअघि नेपाल समूह ‘ए’ को विजेता बन्दै फाइनलमा पुगेको थियो । सेमिफाइनलमा कुवेतसँगको खेल वर्षाको कारण नतिजाविहीन भएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो । साथै युएईले सेमिफाइनल खेलमा ओमानलाई दुई रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ । ‘आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने, ‘ठाउँ बाँकी रह्यो भने अरु समर्थकले पनि निशुल्क हेर्न पाउनु हुन्छ ।’

 
 
  
 

You may also like