काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरुले भारतसँग कालापानीलगायतका सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर प्राप्त भएको बताएका छन् ।
काठमाडौंमा आयोजित साक्षात्कारमा उनीहरुले यस्तो बताएका हुन् । साक्षात्कारमा नेकपामा नेता भीम रावलले सरकारलाई यो समस्या समाधानका लागि राष्ट्रिय सहमति प्राप्त भएको बताए ।
नेपाली काँग्रेसका नेता रमेश लेखकले नेपाली भूमि कालापानीमा भारतीय सुरक्षा बल हटाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि सरकारले उपयुक्त अवसर प्राप्त भएको बताए ।
उनले नेपालले ती समस्या समाधानका लागि प्रधानमन्त्री स्तरमा तत्काल छलफल गर्नुपर्ने बताए । राष्ट्रिय जनता पार्टी, नेपालका नेता महेन्द्र यादवले उच्चस्तरीय राजनीतिक नेतृत्वबीचको वार्ताद्वारा नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले नेपालसँग आफ्नो मिचिएको भूमि भारतबाट फिर्ता लिन यथेष्ट प्रमाण रहेको पनि उल्लेख गरे । नेता यादवले दुई मुलुकबीचको सीमा समस्या विगत देखिनै रहेको उल्लेख गर्दै दुई तिहाई मत सहितको बलियो सरकारले ती समस्याको दीर्घकालीन समाधान गर्ने विश्वास व्यक्त गरे ।