अस्ट्रेलियाले जित्यो भारतसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलाको उपाधि

काठमाडौँ । घरेलु टोली भारतसँगको एक दिवसीय श्रृङ्खलाको उपाधि अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै श्रृङ्खला २–१ ले जितेको हो ।

पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित भएको थियो । अस्ट्रेलियाले दोस्रो खेल १० विकेटले जितेको थियो । तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियाले भारतलाई २७० रनको लक्ष्य दिएको थियो । भारत ४९ ओभर १ बलमा २४८ रनमा अलआउट भयो ।

भारतका विराट कोहलीले सर्वाधिक ५४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । त्यस्तै एस्टन अगरले २ तथा मार्कस स्टोइनिस र सेन एबोटले एक-एक विकेट लिए । त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभरमा २६९ रनमा अलआउट भएको थियो ।

अस्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ४७ रन बनाए । भारतका हार्दिक पान्ड्या र कुलदीप यादवले समान ३ विकेट लिए । मोहम्मद शिराज र अक्षर पटेलले दुई-दुई विकेट लिए ।

 
 
  
 

You may also like