पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

दाङ । दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिइन् । उनले भनिन्, ‘हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्‍यौँ । अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन ।’

मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको उनले बताइन् । उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उनको भनाइ छ । त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रेका सागम्री पनि भेटिने गरेको उनले बताइन् । म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यस कुरामा पसल सञ्चालकले ध्यान दिनुपर्ने बताइन् ।

अनुगमनका क्रममा केही पसल दर्ता नभई सञ्चालन गरिएको पाइएका र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उनले जानकारी दिइन् । पछिल्लो समय तुलसीपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ ।

 
 
  
 

You may also like