रुपन्देही सुपरलिगः वेष्टर्न क्लबलाई सफलता

भैरहवा।तिरुपति क्रिकेट क्लबलाई पराजित गर्दै बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको सुपर फोरको खेलमा विजयी भएको छ । वेष्टर्नले तिरुपतिमाथि ६५ रनको जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभरमा सबै विकेटको नोक्सानीमा २ सय १३ रनको उच्च योगफल बनायो । टीमलाई उच्च स्कोरमा पुर्याउन अनिलकुमार साहले अर्धशतीकय पारी खेले । ७८ बलमा ९ चौका र १ छक्काको मद्दतमा उनले ८४ रन बनाए । यस्तै, रञ्जित खड्काले ३० र भुवन पाण्डेले २४ रनको योगदान गरे । बलिङमा तिरुपतिका विवेक यादवले ४, वसिर अहम्मद र वीरेन्द्र मल्लले समान २–२ तथा संदीप मौर्य र तुलबहादुर थापाले १–१ विकेट लिए ।

प्रतिउत्तरमा तिरुपतिले २५.४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ४८ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि वसिर अहम्मदले ४९, नन्दलाल चाई र तुलबहादुर थापाले २४–२४ तथा विवेक यादवले १८ र संदीप मौर्यले १६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा वेष्टर्नका बिष्णु पाण्डे र अभिषेक गौतमले समान ४–४ महत्वपूर्ण विकेट लिँदा अनिल खरेलका नाममा २ विकेट रह्यो । वेष्टर्नका अनिलकुमार साह म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

 
 
  
 

You may also like