बुटवलले थाल्यो सेवाप्रवाह तथा विकासबारे विज्ञ तथा सरोकारवालाहरुसँग छलफल

बुटवल। बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले विज्ञ तथा सरोकारवालाहरुसँग छलफल थालेको छ ।

बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
जसअनुसार सोमबार कानून व्यवसायी, इन्जिनियर र चिकित्सकहरुसँग छलफल गरिएको छ । चैत १ गते धार्मिक संघसंस्थाका प्रमुखहरुसँग, चैत २ गते महिला स्वयम्सेविका र सामुदायिक वन र पार्कका अध्यक्षहरुसँग छलफल गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

यस्तै, चैत ३ गते सहकारी संस्थाका अध्यक्षहरु र व्यवसायिक संघसंस्था, यातायात व्यवसायी समितिहरु, निर्माण व्यवसायीहरु, हाटबजार व्यवसायीहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

चैत ४ गते अस्पतालका प्रमुख तथा कार्यकारी निर्देशकहरु, ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोलविकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताउनुभयो ।
यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सूचना अधिकारी तुलसा अर्यालले बताउनुभयो ।
सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।

आवश्यकताअनुसार प्राथमिकता निर्धारण गर्न सुझाव

सोमबार आयोजित छलफल कार्यक्रममा बोल्ने विज्ञ तथा सरोकारवालाहरुले बुटवलबासीको आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण गर्न सुझाव दिएका छन् ।

उनीहरुले संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरु दोहोरिएको, दोहोरो योजनाका कारण जनतामा अलमल भएकोले स्थानीय सरकारका रुपमा समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई साझा सहरका रुपमा अगाडि बढाउने प्रयास गरिरहेकाले सबै क्षेत्रका बुद्धिजीविहरुको रचनात्मक सुझावको अपेक्षा राखेको बताउनुभयो ।
‘हामी बुटवललाई साझा सहरका रुपमा देशकै अगुवा सहर बनाउन चाहन्छौं, उहाँले भन्नुभयो(यसमा तपाइँ र तपाइँहरुजस्ता धेरै बुद्धिजीवि र अनुभवी साथीहरुको साथ सहयोग जरुरी छ ।’

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासमा सबै क्षेत्रको उत्तिकै साथ जरुरी रहेको बताउनुभयो । उहाँले बुद्धिजीविका सुझाव सल्लाहलाई समेत समेट्दै बुटवलको विकासमा जुट्ने बताउनुभयो ।
कार्यक्रममा कानून व्यवसायी, इन्जिनियर र चिकित्साक्षेत्रका व्यक्तिहरुले आगामी नीति कार्यक्रम र बजेट निर्माणमा बुटवललाई व्यवस्थित सहरका रुपमा स्थापित गर्ने गरी योजना ल्याउन सुझाव दिएका थिए ।

 
 
  
 

You may also like