एक दिवसीयमा हजार रन पुरा गरेकै दिन आसिफको पहिलो शतक

काठमाडौं । नेपाली ओपनिङ ब्याटर आसिफ सेखले एक दिवसीय क्रिकेटमा व्यक्तिगत एक हजार रन पुरा गरेकै दिन आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम श्रृंखलाअन्तर्गत पपुवा न्युगिनीविरुद्धको जारी खेलमा आसिफले शानदार शतक बनाएका हुन् ।

पछिल्लो आसिफको ब्याटिङ सानदार फर्ममा देखिएको छ । यसअघि युएईमा भएको श्रृंखला अन्तर्गत पपुवा न्युगिनीविरुद्धको अन्तिम म्याचमा पनि उनले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ८६ रन बनाएका थिए ।

आजको म्याचमा उनले एक सय एक बलमा दुई छक्का र दश चौकाको सहायताले शतक पूरा गरे । यसक्रममा उनले कुशल भुर्तेलसँगै एक सय १० रनको शतकीय साझेदारी गरी नेपाललाई सुदृढ शुरुवात गराए । पिएनजीका फिल्डरबाट दुईपटक जीवनदान पाएका आसिफले त्यसको भरपूर लाभ उठाए ।

एक दिवसीय म्याचमा यो उनको पहिलो शतक हो । यी २१ वर्षीय विकेटकिपर ब्याटरले सात अर्धशतक बनाएका छन् । यसबीच उनले एक दिवसीय म्याचमा एक हजार रन पूरा गरेका छन् ।
७ सेप्टेम्बर २०२१ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका आसिफले ३२औँ म्याचमा एक हजार रन पूरा गरे । उनी नेपालका लागि सबैभन्दा धेरै रन बनाउने दोस्रो खेलाडी बनेका छन् । एक दिवसीयमा सबभन्दा धेरै रन बनाउने रेकर्ड कप्तान रोहितकुमार पौडेलको नाममा छ ।

 

 
 
  
 

You may also like